
काठमाडौं, मंसिर २४ । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गियुन हेइविरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइले पारित भएको छ ।
भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्कविरुद्ध राष्ट्रियसभामा भएको मतदानमा प्रस्तावको पक्षमा २३४ र विपक्षमा ५६ मत परेको थियो ।
महाअभियोगको पक्षमा राष्ट्रपति पार्कको सत्ताधारी सानुरी पार्टीका सांसदले पनि मतदान गरेको देखिएको छ ।
महाअभियोगको पक्षमा मतदान भएपछि अब राष्ट्रपति पार्कको अधिकार निलम्बित भएको र राष्ट्रपतिको अधिकार प्रधानमन्त्री ह्वाङ क्यो आनमा गएको बताइएको छ ।
तर, महाअभियोगको अन्तिम निर्णयका लागि भने ९ जना न्यायाधीश रहेको संवैधानिक अदालतको स्वीकृति आवश्यक हुन्छ । संवैधानिक अदालतले ६ महिनाभित्र निर्णय दिनसक्ने व्यवस्था रहेको छ ।
यसअघि राजनीतिक ‘स्क्यान्डल’मा फसेपछि पार्कको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको थियो ।
राष्ट्रपतिले पर्दा पछाडिबाट आफ्नो साथी चोइ सुना सीललाई सत्ताको दुरुपयोग गर्न अनुमति दिएको आरोप प्रदर्शनकारीहरुको छ ।
प्रदर्शनकारीले राष्ट्रपति पार्ककोविरुद्ध सडकबाट राजीनामाको नारा लगाए पनि उनले संसदको सामना गर्ने बताएकी थिइन् ।
दक्षिण कोरियाको राष्ट्रियसभामा महाअभियोग प्रस्ताव विहीबार (हिजो) दर्ता भएको थियो ।
राष्ट्रियसभामा विपक्षी र स्वतन्त्र सांसदहरुको बहुमत छ । पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्