२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अरुको अधिकारका लागि हरेक मानिस आजैदेखि उठौं: वान कि मुन


0
Shares

काठमाडौं, मंसिर २५ । मानवअधिकार रक्षाका लागि हरेक दिन हरेक व्यक्ति कोही अरुको अधिकारका लागि उभिन संयुक्त राष्ट्रसंघले अपील गरेको छ ।

राष्ट्रसंघका महासचिव वान कि मुनले कोही अरुको अधिकारका लागि हरेक मानिस आजैदेखि उठ्नु पर्नेमा जोड दिएका छन् ।

शान्ति, दीगो विकास र मानवअधिकार एक अर्कामा अन्तरसम्बन्धित रहेको र एकको उद्देश्य पूर्ति गर्न अर्को अपिर्हाय रहेको भन्दै महासचिव वानले मानवअधिकारको रक्षा भएमा मात्रै दीगो विकासको लक्ष्य पूरा गर्न सकिने प्रष्ट गरे ।

मानवअधिकारले व्यवस्थित समाजको आधार तयार गर्ने भएकाले यसको रक्षाका लागि प्रतिवद्ध भएर लाग्न उनले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह पनि गरेका छन् ।

सन् १९४८ को डिसेम्बर १० राष्ट्रसंघको महासभाले मानवअधिकार घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष मनाइने मानवअधिकार दिवसका लागि यस वर्षको सन्देश ‘कसैको अधिकारका लागि आजै उठौं’ भन्ने रहेको छ ।

विश्वका धेरै देशका नागरिक अझै आधारभूत अधिकारबाट बञ्चित रहेकाले उनीहरुको अधिकारका लागि आ–आफ्नो स्थानबाट सक्दो पहल गर्नु पर्नेमा राष्ट्रसंघले जोड दिएको हो ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जाइद राअड अल हुसैनले मानवअधिकारका लागि हरेक व्यक्तिले आफ्नो तर्फबाट केही गर्ने समय आएको बताए ।

उच्चायुक्त हुसैनले हरेक व्यक्तिले परिवर्तन ल्याउन सक्ने भएकाले मानवीयताका लागि जुट्नु पर्नेमा जोड दिनुभएको हो ।