
धनकुटा, मंसिर २५ । जिल्ला प्रहरी कार्यालय धनकुटाले गाँजा खेती भइरहेका स्थानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएको छ ।
ब्यवसायिक रुपमै गाँजाको अबैध उत्पादन, प्रशोधन र ओसारपसार भईरहँदा प्रहरी प्रशासन मौन बसेको भन्दै आलोचना भएका बेला प्रहरीले छिन्ताङ र महाभारत गाविसमा ठूलो परिमाणमा फसल लिने अवस्थाको गाँजा नष्ट गरेको हो ।
गतवर्ष गाँजा उत्पादक र कारोबारीलाई संरक्षण दिएको आरोप पुष्टि भएपछि धनकुटाका ७ जना प्रहरी विभागीय कारवाहीमा परेका थिए ।
यसपटक भने प्रहरीले समयमै सचेतता देखाएको छ । धनकुटाको छिन्ताङ, आँखिसल्ला, आहाले, पाख्रिबास र खोकु गाविसमा ठूलै मात्रामा गाँजा खेती गरिएको सूचना पाएकाले मंसिर महिनाभर सर्च ‘एण्ड डिष्ट्रोय’ अभियान चलाउने प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए ।
फडाँनीमा गएको प्रहरीले महाभारत र आहालेमा बिक्रीका लागि राखिएको गाँजा पनि बरामद गरी नष्ट गरेको छ । धनकुटाबाट बार्षिक ४२ करोड रुपैयाँभन्दा बढि मूल्यको अबैध गाँजा उत्पादन र बिक्री हुँदै आएको प्रहरीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्