
बारा, मंसिर २६ । सातौं राष्ट्रिय खेलकुदमा सहभागी गराउन मध्यमाञ्चलका तेक्वान्दो खेलाडीको छनोट आइतबारदेखि बारामा सुरु भएको छ ।
मध्यमाञ्चल खेलकुद विकास समितिको आयोजनामा सुरु भएको छनोट खेलमा १९ जिल्लाका तीन सय चार खेलाडी सहभागी छन् ।
सिमरा रंगशालामा सुरु भएको तीनदिने छनोट खेलको पहिलो दिन महिलाको ४६ केजी र पुरुषको ५४ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा भएको छ ।
पहिलो दिनको खेलमा पुरुषतर्फ मकवानपुरका विशाल गोले, रामेछापका अमित शाही, महोत्तरीका सागर मिरिङ चिङ, भक्तपुरका सुसेन गणेश, काठमाडौंका विवेक केसी, धादिङका राजेशकुमार गुप्ता र सिन्धुपाल्चोकका सुजन भुजेल विजयी भएका छन् ।
यसैगरी, महिलातर्फ रौतहटकी सुविक्षा चौधरी, धादिङकी सम्झना भण्डारी, काठमाडौंकी योगमाया श्रेष्ठले जित हासिल गरेका छन् ।
बाक्लो हुस्सु र शीतलहरकाबीच खुलाचौरमा आयोजना गरिएको खेल प्रभावित हुन पुगेको थियो ।
मौसमका कारण आयोजकले सोमबार र मंगलबारको खेल बन्द कोठाभित्र गर्ने तयारी गरेको छ ।
प्रतियोगितामा महिलाले ८ र पुरुषले ८ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट विराटनगरमा हुने सातौं राष्ट्रिय खेलकुदका लागि महिला र पुरुष गरी १६ जना खेलाडी छनोट हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्