काठमाडौं, मंसिर २७ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सोसलिस्ट पार्टी अफ बंगलादेशका जनरल सेक्रेटरी खालेकुजमन नेतृत्वको प्रतिनिधिमन्डलले शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको सो भेटमा प्रधानमन्त्री दाहाल र खालेकुजमनबीच दुई देशको सम्बन्ध एवं नेकपा माओवादी केन्द्र र सोसलिस्ट पार्टी अफ बंगलादेशबीचको अन्तरपार्टी सम्बन्धकाबारेमा छलफल भएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपाल परिवर्तनका मुद्दालाई संस्थागत गर्ने चरणमा रहेको र सरकारले परिवर्तन संस्थागत गर्दै समृद्धि हासिल गर्ने कुरालाई प्राथमिकतामा राखेको बताएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले राष्ट्रिय एकता बलियो पार्दै संविधान कार्यान्वयन, शान्ति–प्रक्रियाको पूर्णता, पुनःनिर्माण र नवनिर्माण एवं समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय हित र साझा सवालमा नेपाल र बंगलादेशबीच सम्बन्ध अझै घनिष्ट बन्ने विश्वास व्यक्त गरेका थिए ।
भेटमा जनरल सेक्रेटरी खालेकुजमनले बंगलादेशको सोसलिस्ट पार्टीले नेपाल र नेकपा माओवादी केन्द्रसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको जानकारी दिँदै प्रधानमन्त्रीलाई बंगलादेश भ्रमणका लागि निमन्त्रणा गरेको सचिवालयले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्