Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


लोडसेडिङमुक्त अभियानलाई अगाडि बढाउन थप बजेट निकासा


0
Shares

काठमाडौं, मंसिर २७ । विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउनका लागि अर्थ मन्त्रालयले रु पाँच अर्ब ३७ करोड बजेट थप निकासा गरेको छ ।

ऊर्जा मन्त्रालयले प्रस्ताव गरेअनुसार नै बजेट निकासा गरिएको बताइएको छ ।

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार उक्त बजेट विनियोजनसम्बन्धी निर्णय सदर गरेका हुन् ।

विद्युत् पोल, तार–केबल, ट्रान्सफर्मर, नयाँ मिटर खरिदका लागि सो रकम खर्च गरिने उपप्रधानमन्त्री महराका प्रेस विज्ञ त्रिभुवन पौडेलले बताए ।

प्रेस विज्ञ पौडेलका अनुसार उक्त रकम विशेषगरी ऊर्जासंकट न्यूनीकरण कार्ययोजनामा खर्च गर्ने गरी अख्तियारी प्रदान गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार भएको विद्युत् संकट समाधान विषयक छलफल कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले ऊर्जा मन्त्रालयको सबै प्रस्तावमा अर्थले स्वीकृति प्रदान गरिसकेको बताए ।

ऊर्जा मन्त्रालयले प्रस्ताव गरेको इन्जिनियरिङ परामर्श कम्पनी, विद्युत् व्यापार कम्पनीलगायत विषयमा स्वीकृति प्रदान गरिसकिएको बताउँदै उनले भने–‘तर राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको बूढीगन्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा भने हालसम्म कुनै निर्णय हुन सकेको छैन ।’ रासस