
पर्वत, मंसिर । पर्वतको देउपुर गाविस–५ गौंडामा पोखरा–बागलुङ राजमार्गनजिकै अनौठो गुफा फेलापरेको छ ।
देउपुर गाविस–५ टापु गाउँको घट्टेखोला किनारमा स्थानीयवासीले गत शनिबार गुफा फेलापारेका हुन् ।
सानो गुफा छ भन्ने थाहा भएपनि त्यसको भित्री तहसम्म नपुगेका स्थानीयवासीले शनिबार त्यहाँभित्रसम्म पुगेर हेरेका हुन् ।
गुफाभित्र अनौठा र आकर्षक आकृति भेटिएको स्थानीयवासी एवं शिक्षक भूमिराज शर्माले जानकारी दिए ।
‘पहिले पहिले गाउँमा गुफा भएको भनिए तापनि भित्री भागसम्म पुगेर त्यसको अवलोकन हुन सकेको थिएन’–उनले भने–‘गुफाभित्र मनै लोभ्याउने आकर्षक आकृतिहरु देखिएका छन् ।’
भित्र चुन–ढुंगका आकर्षक आकृतिले आन्तरिक र बाह्य पर्यटकलाई नै लोभ्याउने शर्माको भनाइ छ ।
विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका जननेत्र माविका शिक्षक र विद्यार्थीले आफ्नै गाउँको पर्यटकीय सम्भावनाको खोजी गर्नेक्रममा उक्त गुफा फेलापारेका थिए ।
स्थानीयवासीका अनुसार पार्वती गुफामा दुई मुख छन् । तल्लो भाग केही साँघुरो छ । त्यसलाई चौडा बनाउने हो भने भित्र पस्नका लागि सहज हुन्छ ।
बीचमा गुफाभित्र विभिन्न आकृतिका बुट्टेदार चट्टान छन् । स्थानीयवासी १५ मिटरभित्रसम्म पुगेको शिक्षक शर्माले जानकारी दिए । माथिल्लो भाग भने निकै फराकिलो र चारैतिर फैलिएको छ । उक्त स्थानमा सयौं मानिस सजिलै अटाउनसक्ने क्षमता देखिएको छ ।
पोखरा–बागलुङ राजमार्गनजिकै भएकाले गुफाको प्रचारप्रसार गर्नसके महत्वपूर्ण पर्यटकीयस्थलकारुपमा विकास गर्न सकिने अर्का शिक्षक सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आफूले अन्य धेरै गुफाको अवलोकन गरे तापनि उक्त गुफाको आकृति र प्रकृति अनौठो र मनमोहक रहेको उनले बताए ।
देउपुर–५ आदर्श प्राविका शिक्षक नारायणप्रसाद पौडेलले सात वर्षपहिले आफूले विद्यार्थी लिएर सो गुफामा पुगेको तर अँध्यारो भएकाले १० मिटरभन्दा भित्र पस्न नसकेको जानकारी दिए । उक्त गुफा अझै लामो हुनसक्ने उनको भनाइ छ ।
पर्वतमै रहेका प्रसिद्ध धार्मिकस्थल गुप्तेश्वर र अलपेश्वर गुफामा रहेका दृष्य र आकृति उक्त गुफामा भेटिएको स्थानीयवासीले जानकारी दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्