२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वैकल्पिक उपाय गरेर थप ८० मेगावाट विद्युत् आयात गर्दै प्राधिकरण


0
Shares

                                                                                     फाइल फोटो
काठमाडौं, मंसिर २८ । नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।

मुलुकमा सहजरुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ निर्माण गरिरहेको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न हुन केही दिन लाग्ने भएपछि प्राधिकरणले वैकल्पिक उपाय गरेर सो परिमाणको विद्युत् आयात गर्न लागेको हो ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनलाई १३२ केभीमा चार्ज गरेर थप ८० मेगावाट विद्युत् आयात गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तालिकाअनुसार थप विद्युत् आगामी पुस २१ गतेसम्म नेपालको केन्द्रीय ग्रीडमा जोडिने छ ।

सो कार्यका लागि पावर ग्रीड इन्डियाले भारतको मुजफ्फरपुर सवस्टेसनमा नेपालका लागि थप विद्युत् उपलब्ध गराउन २२०/१३२ केभी प्रसारणलाइनमा थप १०० एमभीएको ट्रान्सफर्मर जडान गर्न लागेको जानकारी प्राप्त भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले राससलाई जानकारी दिए ।

नयाँ ट्रान्सफर्मर जडान गर्न विद्यमान १०० एमभीएको ट्रान्सफर्मरको समानान्तररुपमा नै नयाँ कन्डक्टर जडान हुने भएकाले मंगलबार (आज)देखि लागू हुने गरी यही मंसिर ३० गतेसम्म भारतीय समयअनुसार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म विद्युत् कटौती हुने प्रवक्ता अधिकारीले बताए ।

दुई दिन हाल उपलब्ध भइरहेको ८० मेगावाट विद्युत्समेत दिनभर कटौती हुनेछ । त्यसबाट परवानीपुर, वीरगन्ज, सिमराको ६६ केभी र औद्योगिक ग्राहकको ११ केभी प्रसारणलाइनमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

कुल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारणलाइनलाई २२० केभीमा चार्ज गरेर आयात भइरहेकामा थप विद्युत् आयात गर्न भारत तर्फबाटै २२०/१३२ केभीमा चार्ज गर्नसमेत उक्त सवस्टेसनमा समानान्तररुपमा नयाँ ट्रान्सफर्मर जडान गर्न लागिएको जानकारी प्राधिकरणलाई आएको प्रवक्ता अधिकारीले बताए ।

ढल्केबरमा निर्माण भइरहेको सवस्टेसन सम्पन्न हुन अझै एक महिना लाग्ने भएकाले वैकल्पिक उपाय प्रयोग गरेर भएपनि सुक्खायामको माग धान्ने गरी विद्युत् आयात गर्न लागिएको हो ।

ढल्केबरमा सवस्टेसन निर्माण सम्पन्न भएपछि २५० मेगावाट विद्युत् सोही प्रसारणलाइनबाट आयात गर्ने योजनामा प्राधिकरण रहेको छ ।

‘तत्कालका लागि वैकल्पिक उपाय अपनाउन लागिएको हो, त्यसले मुलुकको माग धान्न सहयोग पुग्नेछ’–प्रवक्ता अधिकारीले भने ।

प्राधिकरणले दुई दिन विद्युत् कटौती हुँदा पर्ने समस्याप्रति माफी माग्दै निरन्तर विद्युत् आपूर्ति गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

यस्तै, रक्सौल परवानीपुर, कुशाहा कटैया प्रसारणलाइनबाटसमेत थप ५०/५० मेगावाट विद्युत् आयातको अन्तिम तयारी भइरहेको छ ।

परवानीपुरमा स्थानीय राजनीतिक दलले गरेको अवरोधसमेत गृह मन्त्रालयले हटाउने भएको छ ।

यस्तै, प्राधिकरण र भारतका उच्च अधिकारीले स्थलगत अध्ययन गरिएको टनकपुर सवस्टेसनमासमेत नयाँ ट्रान्सफर्मर जडानका लागि काम सुरु हुने भएको छ । हाल सो प्रसारणलाइनबाट २५ मेगावाट विद्युत् आयात भइरहेको छ ।

नयाँ ट्रान्सफर्मर जडान भएपछि थप ३० मेगावाट विद्युत् आयात हुने प्राधिकरणले जनाएको छ ।

हाल एक हजार २८६ मेगावाट विद्युत् माग रहेको छ भने भारतबाट आयात गरिएको र आन्तरिक उत्पादनसमेत जोड्दा करिब ८८६ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।

नदीमा जलस्तर घटेको र चिसो बढेका कारण सबै आयोजनाले भने पूर्णक्षमतामा विद्युत् उत्पादन गर्न भने छाडेको छ ।

विद्युत्भार कटौतीलाई अन्त्य गर्नसमेत भारतबाट तत्काल विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको भनाइ छ । रासस