
काठमाडौं , मंसिर २९ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पाँच नम्बर प्रदेशको सीमांकन परिवर्तनको विरोध गर्नु अर्थहीन भएको बताएकी छिन् ।
संघीयताको मर्म अनुरुप पाँच नम्बर प्रदेशको सीमांकन परिवर्तन गर्न लागेको दावी गर्दै उनले आफ्नो भोट बैंक यतायता हुने डरले त्यस क्षेत्रका केही नेता आन्दोलनमा उत्रिएको बताईन ।
उनले सबैलाई अधिकार सम्पन्न बनाउँन सीमांकन परिवर्तन गर्न लागिएकाले यसको विरोधमा गरिएको आन्दोलनको कुनै अर्थ नभएको दावी गरेकी छिन् ।
उनले संविधान संशोधनका लागि पहिले नै लिखित सहमति भएको बताउदै एमालेले अहिले संविधान संशोधनको विरोध गर्नु गलत भएको बताएकी छिन् ।
संविधान जारी गर्ने बेलामै पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई प्रदेश नम्बर चारमा लगिएने लिखित सहमती भएको बताउँदै एमाले अध्यक्ष केपी ओलीले त्यस सहमतीमा हस्ताक्षर गरेको दावी उनले गरेकी छिन् ।
ईमेज टेलिभिजनको साप्ताहिक कार्यक्रम सत्यपथसंग कुरा गर्दै भुसालले मुलुकमा गणतन्त्र पुष्पकमल दाहाल प्रचण्डकै कारण आएको जिकिर गरेकी छिन् ।
उनले अझै पनि नेपाली राजनीतिको केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड नै रहेको बताउकी छिन् । उनले माओवादी आफ्नो सिद्धान्तमा कहिल्यै च्यूत नभएको बताउँदै साम्यवादको यात्राबाट माओवादी विचलन नहुने बताएकी छिन् ।
संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचन सम्भव नहुने भएका कारण पहिला संशोधन हुने दावी पनि उनले गरेकी छिन् ।
मधेसी , आदिवासी जनजातीलाई अधिकार सम्पन्न गराउनका लागि संविधान संशोधन गर्न लागिएका बेला विरोध भएको उनले बताएकी छिन् । विरोधका बीच पनि संविधान संशोधन भएरै छाड्ने भुसालले दावी गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्