२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विपक्षीले देश नै विखन्डनतर्फ जाने गरी अतिरन्जित गरे : परराष्ट्रमन्त्री


0
Shares

                                                                                   फाइल फोटो
चितवन, मंसिर २९ । परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई एमालेलगायतका विपक्षी दलले देश नै विखन्डनतर्फ जाने गरी अतिरन्जित गरेको बताएका छन् ।

बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले ‘कांग्रेसले तत्कालीन लाभलाई थाती राखेर मुलुकलाई निकास दिनका लागि संशोधन प्रस्तावलाई समर्थन गरेको छ’–भने ।

उनले भने–‘चित्त नबुझ्दा–नबुझ्दै पनि देशले निकास पाउँछ, मधेस आन्दोलन रोकिन्छ भनेर संशोधन प्रस्ताव पेस गरिएको हो ।’

संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएको भन्दै मन्त्री महतले संशोधन प्रस्तावसँगै सबै दल एक हुन्छन् भन्ने अभिप्रायका साथ पेस भएको भएपनि यसको आशय उल्टाउने काम भएको बताए ।

देशलाई नै असहज हुने गरी आन्तरिक राजनीतिलाई दलीय स्वार्थमा जोडेर अतिरन्जित बनाइएको चर्चागर्दै उनले संविधान संशोधनका विषयमा कांग्रेसभित्र पदाधिकारी तह र केन्द्रीय समितिमा सैद्धान्तिक छलफल भएपनि बुँदागतरुपमा भने छलफल नभएको बताए ।

फरक प्रसंगमा उनले नेपालप्रति भारतले गरेको चिन्ताका बारेमामात्रै बढी प्रचार हुने गरेको भन्दै ‘नेपालप्रतिको चासो र चिन्ता भारतलेमात्र होइन, युरेपेली युनियन, चीन, अमेरिका र संयुक्त राष्ट्रसंघले पनि त्यत्तिकै लिएका छन्’–भने ।

परराष्ट्रमन्त्री महतले संविधान कार्यान्वयनका लागि अहिलेकै अवस्थामा भएपनि सरकारले निर्वाचन गराउने बताउँदै यसले दलहरुबीचमा सहमति ल्याउने र स्थानीय तहका निर्वाचित पदाधिकारीले सीमांकन गर्न सहयोग पुर्‍याउने बताए ।

सीमांकनका विषयमा देशव्यापी गुनासा रहेकाले यसलाई टुंग्याएरमात्रै निर्वाचन गर्न ढिलाइ भएकाले पुरानै संरचनामा निर्वाचन गर्नु उपयुक्त हुने धारणा उनले व्यक्त गरे ।

मन्त्री महतले चीनसँग अघिल्लो सरकारले गरेको व्यापार सम्झौता सैद्धान्तिकमात्रै भएको उल्लेख गर्दै ‘त्यसलाई कार्यान्वयन गर्ने तहमा अहिलेको सरकारले काम गरिरहेको छ’–भने ।

रेलवे, सडकलगायतमा भएका सहमति कार्यान्वयन तहमा अघि बढिरहेको पनि उनले बताए । रासस