३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


चेल्सीले लगातार १० औं जित हात पार्‍यो, लिभरपुल दोस्रो स्थानमा


0
Shares

काठमाडौं, मंसिर ३० । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार १०औं जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा सण्डरल्याण्डलाई १-० ले हराउँदै चेल्सीले लगातार १० जितको क्लब कीर्तिमान राखेको हो ।

यसअघि जाजे मौरीन्होको प्रशिक्षणमा सन् २००७ मा चेल्सीले लगातार ९ जितको कीर्तिमान बनाएको थियो ।

बुधबार सण्डरल्याण्डविरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन सेस्क फाब्रिगासले निर्णायक गोल गरे ।

प्रिमियर लिग फुटबलअन्तर्गत राति भएका अन्य खेलमा लिभरपुल, म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

लिभरपुलले मिडिल्सब्रोलाई ३-० ले हराउँदा म्यानचेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई २-१ ले हरायो ।

यसैगरी म्यानचेस्टर सिटीले वाट्फोर्डलाई २-० ले पराजित गर्दा टोटनह्याम हट्सपरले हल सिटीलाई ३-० ले पराजित गर्‍यो ।

यसैगरी वेष्ट ब्रोमले स्वान्सी सिटीलाई ३-१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले बर्न्लेलाई १-० ले पराजित ग¥यो । स्टोक सिटी र साउथह्याम्पटनले भने गोलरहित बराबरी खेलेका छन् ।

बुधबार रातीका खेलपछि प्रिमियर लिगमा १६ खेलबाट ४० अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको लिभरपुलको ३४ अंक छ भने समान ३४ अंक जोडेको आर्सनल गोलअन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ ।