Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने एमालेको निर्णय


0
Shares

                                                                                      फाइल फोटो
काठमाडौं, मंसिर ३० । नेकपा एमालेले निर्वाचनमार्फत् राजनीतिक निकास निकाल्न आफ्नो दल सधैं तत्पर रहेको जनाएको छ ।

पार्टीको स्थायी कमिटीको विहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधानको कार्यान्वयनका लागि मुलुकको राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक समृद्धि नै अहिलेको राष्ट्रिय कार्यभार भएकामा जोड दिएको छ ।

बैठकले संविधान संशोधन विधेयक फिर्ता गरी आगामी निर्वाचनका लागि राजनीतिक शक्तिकोबीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसर हुन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

बैठकले संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध संसदभित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

‘संविधानले निर्धारण गरेको मितिभित्र जनप्रतिनिधिमूलक निकायको निर्वाचन हुनु अनिवार्य छ । वि.सं. २०७४ माघ महिनाअगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं’–बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ–‘असंवैधानिक, जनविरोधी तथा राष्ट्रियहित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आमजनसमुदाय तथा विभिन्न संघ–संगठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।’ रासस