१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ट्रम्पका विरोधी मेक्सिकोमा राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?


0
Shares

एकराज पाठक (रासस)

काठमाडौं, असार २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेन्डा थियो, मेक्सिकोको सीमामा पर्खाल ।

उनले आफ्ना हरेक सम्बोधनमा भन्थे–‘मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउँछु । तर, त्यसको खर्च मेक्सिकोलाई नै तिराउँछु ।’

यो एजेन्डाको विश्वसनीयता र सम्भाव्यताको मापन त्यसताका निकै भएको हो ।

यसरी एकले अर्काे देशको सीमा क्षेत्रमा पर्खाल नै लगाउनेजस्तो काम असम्भव छ भन्नेहरुको जनमत धेरै थियो । उनीहरुले ट्रम्पको यो एजेन्डालाई ‘हावादारी’ भनेका थिए ।

यस्तो असम्भव विषयलाई निर्वाचनको प्रमुख एजेन्डा बनाउने ट्रम्प कसरी अमेरिकाजस्तो देशको राष्ट्रपति बन्ने होलान् ? भनेर पनि विश्लेषकले टिप्पणी गर्ने गर्दथे ।

ट्रम्पले यो एजेन्डालाई अघि सार्नुको प्रमुख कारण मेक्सिकोका कारण अमेरिकामा भएका विविध हानिलाई देखाएका थिए ।

उनले त्यस समयमा गर्ने भाषणका प्रमुख अंश मेक्सिकोलाई ‘गालीगलौज’मा बढी खर्चिने गर्दथे । उनकै भाषामा ‘मेक्सिकोका कारण अमेरिकामा आतंककारी आक्रमण’ हुने गरेका छन् ।

अमेरिकामा बढी लुटपाट र हिंसा मच्चाउनेमा पनि मेक्सिकोका नागरिक बढी छन् भन्ने उनको तर्क थियो ।

त्यसैले मेक्सिकोको यो त्रासबाट मुक्ति पाउन उसको सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने उनको तर्क थियो ।

मेक्सिकोतर्फबाट अवैधरुपमा नागरिक अमेरिका छिर्ने र त्यसमा बढी त मेक्सिकोकै नागरिक भएकाले अमेरिकालाई खतरा उत्पन्न हुने गरेको उनले बताउँदै आएका छन् ।

त्यस्तै, उनको अर्काे एजेन्डा अवैध आप्रवासीलाई अमेरिकामा स्थायीरुपमा बसोबास गर्न नदिइने भन्ने पनि थियो । त्यसको दोषी पनि उनको नजरमा मेक्सिको नै थियो ।

मेक्सिकोका धेरै आप्रवासी अवैधरुपमा अमेरिका छिर्छन् र लुटपाट गरेर आतंक मच्चाउने गर्छन् भन्ने उनको आरोप थियो । त्यसैले पनि उनले मेक्सिकोसँग पर्खाल लगाउने प्रस्ताव गरेको बताएका थिए ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएको पनि डेढ वर्ष भइसक्यो । यस समयमा उनले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन जग हाल्न सकेका छैनन् । तरपनि यो एजेन्डालाई भने उनले जीवितै राखेका छन् । बेला–बेलामा उनले भाषणमा अहिले पनि आफ्नो उक्त कार्यक्रम प्राथमिकतामा नै रहेको बताउने गर्छन् ।

त्यो एजेन्डा यतिखेर भने अमेरिकामा आएर अझ बढी चर्किएको छ । मेक्सिकोमा नयाँ राष्ट्रपति आएपछि यसले उक्त एजेन्डालाई अमेरिका र मेक्सिकोमा पनि अझ बढी चर्काइदिएको महसुस भएको छ ।

किनभने मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति अमेरिकी राष्ट्रपति ट्रम्पका एक कट्टर विरोधीकारुपमा परिचित छन् । उनको आगमनले यी दुई छिमेकीको आगामी सम्बन्ध कस्तो होला ? भन्ने प्रसंगले यो पर्खाल प्रसंगलाई पुनः एकपटक सम्झाइदिएको हो ।

मेक्सिकोमा गएको आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा त्यहाँका पुराना वामपन्थी नेता आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । यो जितसँगै त्यहाँ वामपन्थी शक्तिको पुनः उदय भएको छ ।

छिमेकमा भएको यो उदयले राष्ट्रपति ट्रम्पलाई पुनः एकपटक झस्काइदिएको छ । एकातर्फ आफ्ना कट्टर विरोधी र अर्कोतर्फ छिमेकमा दशकौंका परम्परावादी शक्तिलाई परास्त गर्दै वामपन्थी शक्तिको उदय ।

राष्ट्रपति ट्रम्पको पर्खाल र आप्रवासीमात्र नभएर सबैखाले नीतिहरुमा पनि उनको उदयले अमेरिकालाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ ।

ओब्राडोरको विजयसँगै मेक्सिकोको मूलधारको राजनीतिबाट दुईओटा प्रमुख राजनीतिक दल रिभोल्युसनरी पार्टी र नेसनल याक्सन पार्टीको दशकौं पुरानो एकाधिकार भने तोडिएको छ ।

ती पुराना र त्यहाँको राजनीतिक परिदृश्यमा विगत लामो समयदेखि कब्जा जमाउँदै आएका ठूला दलको पराजयबाट उदाएका आब्राडोरले ती दललाई देशको राज्यसत्तामा ‘गैरराजनीतिक माफिया’ भनेर टिप्पणी गर्ने गर्छन् ।

मेक्सिको सिटी नगरका पूर्वमेयर ओब्राडोर आफ्ना प्रतिद्वन्द्वीसँग सबैभन्दा बढी मतान्तरले विजयी भएका छन् । उनका प्रतिद्वन्द्वीको २३ प्रतिशतमात्र मत रहेकामा उनले भने ५३ प्रतिशतभन्दा बढी मत ल्याएका छन् ।

६४ वर्षीय ओब्राडोरले चुनावी परिणाम घोषणा भएलगत्तै मेक्सिकोका हरेक क्षेत्रमा आमरुपमा परिवर्तन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले खासगरी मेक्सिकोमा बढ्दो भ्रष्टाचार निर्मूल पार्ने काममा आफू लाग्ने आश्वासन दिएका छन् ।

गत आइतबार सम्पन्न सो चुनावमा त्यहाँका करिब सात करोड मतदाताले मतदान गरेका थिए ।

ल्याटिन अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रकारुपमा परिचित मेक्सिको यस क्षेत्रको एक ठूलो तेल निर्यातकर्ता देश पनि हो । तर, पछिल्लो समयमा भने तेलको मूल्य खस्किएका कारण मेक्सिकोको अर्थतन्त्रमा नकारात्मक असर परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर विरोधी ओब्राडोर राष्ट्रपतिमा विजयी भएसँगै दुई देशबीचको यसैपनि नराम्रो सम्बन्धबारे पुनः चर्चा सुरु भएको छ ।

आफू राष्ट्रपति भएपछि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोकाविरुद्ध अभिव्यक्ति दिन भने छाडेका छैनन् ।

केही महिनामात्रअघि पनि उनले मेक्सिकोका नागरिकलाई ‘चर्पीको प्वालजस्ता काम नलाग्ने देशका मानिस’ भनी टिप्पणी गरेका थिए । यो अभिव्यक्तिबाट पनि पछिल्लो समयमा दुई देशबीचको तनाव थप उत्कर्षमा पुगेको छ ।

ओब्राडोरले ‘भ्रष्टाचार नै मेक्सिकोको सामाजिक र आर्थिक असमानता र हिंसाको मूल जड हो’–भनेका छन् ।

उनले आफूले नियमितरूपमा मन्त्रिपरिषद बैठक डाक्ने र देशमा व्याप्त लागुऔषधको कारोबारीहरुको अवैध जालो तोड्ने वाचा गरेका छन् ।

राज्य, राजनीतिक दल र व्यापारिक घरानाले गरेको देशको साधन–स्रोतको एकोहोरो दोहनको अन्त्य गरी देशका मजदुरको कामकोे ज्याला र पेन्सन वृद्धि गर्नेसमेत उनले बताएका छन् ।

राष्ट्रपति ट्रम्पको आप्रवासी नीति अथवा समग्रमा भन्नुपर्दा सिंगो मेक्सिको नीतिकै विरोधी ओब्राडोरको विजय यस्तो समयमा भएको छ कि यतिबेला अमेरिकी राष्ट्रपतिको आप्रवासी नीतिलाई अमेरिकाको सर्वाेच्च अदालतले मान्यता दिएको छ ।

मेक्सिकोसहित केही मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाइ गर्ने उनको नीतिले वैधानिकता पाएको छ ।

तर, त्यसकाविरुद्धमा देशैभरि प्रदर्शन जारी रहेका बेला छिमेकी मेक्सिकोमा त्यस नीतिका एकजना कट्टर आलोचकको उदयले यी दुई देशको सम्बन्धलाई पुनः परिभाषित गर्ने दिन आएको कतिपय विश्लेषकको भनाइ छ ।

तर, राष्ट्रपति ट्रम्पले भने ओब्राडोरलाई आफ्नो ट्वीट अकाउन्टमार्फत् बधाइ दिएका छन् ।

उनले मेक्सिकोको सो निर्वाचनलाई वैधानिक भन्दै नयाँ राष्ट्रपतिसँग मिलेर काम गर्ने बताएका छन् ।

दुई देशको यो कूटनीतिक अभ्यासकैबीचमा दुवै देशका विश्लेषकको प्रश्न भने जीवितै छ–‘के सीमा क्षेत्रमा पर्खाल बन्ला त ?’ (विभिन्न एजेन्सीहरुको सहयोगमा)