-सञ्जय कार्की/ईमेज
काठमाडौं । सिंहदरबारको अधिकार गाउँगाउँमा प्रत्यायोजन गरेको भनिए पनि जनप्रतिनिधि नै अलमल पर्दा रौतहटको वृन्दावन नगरपालिकाको काम नराम्ररी प्रभावित बनेको छ ।
आर्थिक वर्षको आठ महिना बितिसक्दा पनि वडाध्यक्षहरुले विकासका योजना प्रस्तुत गर्न नसक्दा बजेट खर्च हुन सकको छैन ।
रौतहटको कटहरिया, फतुवा विजयपुर र देवाही गोनाही नगरपालिकामा जनप्रतिनिधिबीचको विवादका कारण अहिलेसम्म नगरसभा बस्न सकेको छैन ।
बृन्दाबन नगरपालिकाको नगरसभा बैठक गत असोजमा बसे पनि विकास निर्माणका योजना अझै छनोट गर्न सकेको छैन ।
नगरभित्र विकास निर्माणका थुप्रै काम हुँदाहुँदै पनि आर्थिक वर्ष सकिन लाग्दासम्म योजना छनोटमै अलमलिएका छन् ।
दश वडा रहेको नगरपालिकाले प्रत्येक वडालाई ८० लाखको बजेट सिलिङ तोकेर योजना माग गरेको थियो तर वडाध्यक्षहरुले योजना दिन नसक्दा काम अलपत्र बनेको छ ।
वृन्दावन नगरपािलका ६ का वडाध्यक्ष जयमंगल पण्डितवडा समितिको बैठकबाट पारित गरेर छिट्टै योजना बुझाउने प्रतिबद्धता जनाउँछन् ।
नगरपालिकामा न त फोहोर व्यवस्थापनको काम हुन सकेको छ न त सडक गल्लीहरु सुधारिएका छन् ।
जीवनस्तर र चेतनास्तर अत्यन्त न्यून भए पनि उनीहरुलाई सशक्तीकरणका योजना नगरपालिकाले ल्याउन सकेको छैन ।
योजना निर्माणमा अस्वाभाविक रुपमा ढिलाइ हुँदा आर्थिक अनियमितता हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
यता, नगरप्रमुख रामस्नेही यादब नगरसभा सकिएको ६ महिना बितिसक्दा पनि वडाध्यक्षले योजना नबुझाउनु दुर्भाग्यपूर्ण रहेको भन्दै नगरस्तरीय निर्णयबाट विकासको काममा अघि बढ्ने धारणा राख्छन् ।
महिनौंसम्म योजना छनोट नगरी विकास निर्माणलाई अवरुद्ध बनाउने जनप्रतिनिधिको यो प्रवृत्तिले जनता चिढिएका छन् ।








प्रतिक्रिया दिनुहोस्