जनकपुर । जनकपुरको श्रम तथा रोजगार कार्यालयमा कर्मचारी अभाव भएपछि सेवाग्राहीले निकै सास्ती भोग्नुपरेको छ ।
संघीय सरकारले श्रम स्वीकृतिलाई सहजता बनाउन प्रदेश स्तरमा कार्यालयहरु स्थापना गरे पनि कर्मचारी अभावले सेवाग्राहीलाई काम गराउन समय बढी लाग्ने गरेको हो ।
वैदेशिक रोजगारीमा जानेलाई राहदानी नवीकरण गराउने काम मात्र गर्दै आएको जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयमा दैनिक सयौं सेवाग्राही पुग्ने गरेका छन् ।
तर कार्यालयमा ९ जना मात्र कर्मचारी छन् । कार्यालयले भीड नियन्त्रण गर्न दैनिक ५ सयको हाराहारीमा अनलाइन फाराम भराउँंदै आएको छ ।
प्रतिदिन डेढ सयदेखि २ सयसम्म टोकन वितरण गर्दै आए पनि सेवाग्राहीलाई काम गराउन कम्तिमा दुई दिन लाग्ने गरेको छ ।
भीड नियन्त्रण गर्न सुरक्षामा खटिएका प्रहरीले बलसमेत प्रयोग गर्नुपर्ने बाध्यता छ ।
कार्यालयका लागि १४ जना कर्मचारीको दरबन्दी तोकिएको भए पनि ९ जना मात्रै उपलब्ध हुँदा समस्या परेको श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले जानकारी दिए ।
श्रम स्वीकृति नवीकरण गराउन दुई दिनदेखि लाइनमा बसेका सेवाग्राहीले कर्मचारीहरुले भेदभाव गर्ने गरेको आरोप लगाए ।
उनीहरुले कर्मचारीहरुले बिचौलियासमेत प्रयोग गर्ने गरेको आरोप लगाएका छन् ।








प्रतिक्रिया दिनुहोस्