संविधान संशोधन विधेयक पारित हुन दिन्नौं : ओली « Image Khabar


संविधान संशोधन विधेयक पारित हुन दिन्नौं : ओली


Imagekhabar
२ पुष २०७३, शनिबार १९:४०

                                                                                        फाइल फोटो
काठमाडौं, पुस २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक संसदबाट पारित गर्न नदिने बताएका छन् ।

अखिल नेपाल बुद्धिजीवी संघले शनिबार राजधानीमा आयोजना गरेको ‘संविधान संशोधनको प्रस्ताव र राष्ट्रियताको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितलाई भविष्यमा खतरामा पार्ने भएकाले विधेयक संसदबाट पास हुन नदिने बताए ।

‘विधेयकका कुनैपनि बुँदा समर्थन गर्न योग्य छैनन्’–उनले भने–‘‘सबै बुँदामा देशलाई अहित गर्ने कुरा लुकेर बसेका छन् । त्यसैले विधेयकलाई संशोधन गरेर पास गर्ने अवस्था छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विधेयक राष्ट्रियताको प्रश्नसँग जोडिएर आएकाले संसदमा प्रवेश गर्न नदिएको स्पस्ट पारे ।

‘विधेयक राष्ट्रियतालाई मजबुद् नभइ कमजोर बनाउनेखालको छ’–उनले थपे–‘विधेयक राष्ट्रिय हितका पक्षमा नभएकाले संसदमा प्रवेश नै गर्न नदिएका हौं ।

उनले स्वच्छ, पवित्र मनसायले विधेयक दर्ता नगराएकाले नेपाल, नेपाली जनता र समयको मागअनुसार विधेयक नआएको बताए ।

निर्वाचन गर्न नसके मुलुक डरलाग्दो अवस्थामा पुग्ने भन्दै उनले सरकारले निर्वाचनको कुरा गरे पनि मिति घोषणा र कानुन बनाउने काम नगरेको बताए ।

उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन गर्ने सहमति गरे पनि संसदमा स्थानीय तहको विधेयक दर्ता गराएर सरकारले निर्वाचन गर्न नचाहेको स्पस्ट पारे ।

अध्यक्ष ओलीले आफू नझुकेको हुनाले प्रधानमन्त्रीबाट हट्नुपरेको उल्लेख गर्दै विधेयक दाहालले प्रधानमन्त्री हुनका लागि गरेको कबुलियत भएको बताए ।

कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्तावले राष्ट्रियतालाई आघात पुर्‍याउने भएकाले स्वीकार गर्न नसकिएको बताए ।

उनले अहिलेको प्रदेशको सीमालाई तलमाथि गर्ने हो भने राष्ट्रियताको मूलमर्ममाथि प्रहार हुने उल्लेख गर्दै प्रस्ताव घातक भएको बताए ।

उनले प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिले भारत चिढिएको भन्दै भारतलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न अधिकार नभएको उल्लेख गरे ।

उनले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर पार्ने मनसायका साथ विधेयक ल्याएको दाबी गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विधेयक कालान्तरमा नेपाललाई भारतमा मिसाउने छोटो हतियारकारुपमा आएको बताए ।

उनले पहाड र तराई कुनै हालतमा अलग गर्न नहुने भन्दै मधेसवादी दलहरुले दिल्लीको कुरा गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कार्यपत्र प्रस्तुत् गर्दै संशोधन प्रस्तावले नेपालको राष्ट्रियतामाथि गम्भीर, जटिल र विकराल प्रश्न उठाएको बताए ।

उनले प्रस्ताव तराईलाई नेपालबाट स्वतन्त्र गराई भारतमा गाभ्न र नेपाललाई दोस्रो सिक्किम बनाउन ल्याइएको दाबी गरे ।

कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसी, संविधानविद् विश्वकान्त मैनाली, नेकपा क्रान्तिकारी माओवादीका सचिवालय सदस्य इन्द्रमोहन श्रेष्ठलगायतले विधेयकले राष्ट्रिय एकतालाई कमजोर पार्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्