नवीन शर्मा/भरत केसी (इमेज)
काठमाडौं, असार २३ । काठमाडौं उपत्यकामा सडक विस्तार अभियान सुरु भएको धेरै भइसक्यो ।
सहरलाई सुन्दर र आधुनिक बनाउने उद्देश्यले सुरु गरिएको सडक विस्तार अभियान सकारात्मक भएपनि यसले पारेको नकारात्मक असरप्रति भने सम्बन्धित निकाय गम्भीर देखिएका छैनन् ।
सडक विस्तार अभियान सुरु गरिएका राजधानीका अधिकांश स्थान धुलो र हिलोको चपेटामा परेका छन् । अधिकांश सडकमा धुलो उडेकै छ अनि हिलो जमेकै छ ।
सडककै कारण सबैभन्दा बढी प्रभावित बन्न पुगेको क्षेत्र हो, बौद्धदेखि जोरपाटीसम्मको क्षेत्र ।
यो सडकका कारण स्थानीय वासिन्दामात्र नभएर यहाँबाट ओहोर–दोहोर गर्ने जो–कोही पनि नराम्ररी प्रभावित बन्ने गरेका छन् ।
समयमै सडक विस्तार नहुँदा सबैभन्दा बढी मार बौद्धदेखि जोरपाटीसम्म व्यापार–व्यवसाय सन्चालन गर्दै आइरहेकालाई परेको छ । केही व्यवसायी त यहाँबाट पलायनसमेत भइसकेका छन् ।
यो सडकको अवस्था देख्दा जो–कोहीलाई पनि यहाँ पुग्नै नपरेपनि हुन्थ्यो भन्ने लाग्छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण आजीत भइसकेका छन्, स्थानीय वासिन्दा ।
सडकको अवस्था सुधार गर्न माग गर्दै स्थानीयले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेका छन् । तर, सुनुवाइ हुन सकेको छैन ।
स्थानीय जनप्रतिनिधिहरुले पनि आफूहरुले सडकको अवस्था सुधार गर्न पहल गरिरहेको बताउँछन् ।
विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपलाई अवलोकन गर्न दैनिक हजारौं पर्यटक पुग्ने गर्दछन् । तर, सडकको अवस्था देख्दा यहाँ पुग्ने पर्यटक पनि दिग्दार मान्दै फर्कने गरेका छन् ।
यो सडक विस्तार गर्न सुरु भएको पाँच वर्ष बितिसकेको छ । तर, अवस्था जस्ताको त्यस्तै छ ।









प्रतिक्रिया दिनुहोस्