काठमाडौं, चैत ६ । पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।
विराटनगरमा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् ।
बुधबर भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाल चौथोपटक फाइनलमा पुगेको हो ।
नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरे । पुनमले खेलको ४२औं, अनिताले ७३औं, सावित्राले ८२औं र रेखाले ८५औं मिनेटमा गोल गरेका हुन् ।
पहिलो उपाधिको खोजीमा रहेको नेपालले यसअघि समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० ले पराजित गरेको थियो ।
नेपाल–भारतबीच चौथोपटक उपाधि भिडन्त
नेपालले अब उपाधिका लागि शुक्रबार भारतसित खेल्नेछ ।
बुधबारै भएको दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४–० ले नै पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो ।
समूह चरणमा भारतले माल्दिभ्सलाई ६–० ले र श्रीलंकालाई ५–० ले हराएको थियो ।
नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुन लागेको हो । तीनैपटक भारतले नेपाललाई हराएको छ ।
गत संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
जारी भिडन्तमा नेपालले तीन खेलमा १० तथा भारतले १५ गोल गरेको छ । दुवै टिमले गोल खाएका छैनन् ।
गत महिना भारतमा भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई २–१ ले हराएकाले फाइनल भिडन्त रोचक हुने अनुमान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्