
जेनेभा (स्वीट्जरल्यान्ड), पुस ५ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था (युएनएचसीआर)का एक महिनापहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।
राष्ट्रसंघका यी तीनैजना कर्मचारीलाई एक सशस्त्र समूहले गत नोभेम्बर २७ तारिखमा सुडानको द्वन्द्वग्रस्त डाफर प्रान्तको राजधानी एल जेनैनाबाट अपहरणमा लिएको थियो ।
राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिनापहिले अपहरणमा परेका शरणार्थी नियोगमा कार्यरत् दुईजना नेपाली नागरिक सरुन प्रधान र रमेश कार्की र एक सुडानी नागरिक मुसा ओमर मुसा मोहमद रिहा गरिएको बिहीबार एक विज्ञप्ति जारी गरी जनाएका छन् ।
उनले आफ्नो कर्मचारीको रिहाइको पहलका लागि सुडानी सरकार र सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन् ।
राष्ट्रसंघले अपहरणमुक्त उनीहरुकाबारेमा यसभन्दा बढी विस्तृत् जानकारी उपलब्ध गराएको छैन ।
तत्काल यस समयमा हाम्रा सहकर्मीको स्वास्थ्य र हितका लागि र उनीहरुका प्रियजनको हितका लागि ध्यानकेन्द्रित गरिने युएनएचसीआरका प्रवक्ता एड्रिएन एडवार्डसले सन्चारकर्मीसँग बताए ।
सम्भव भएसम्म सबै कार्य उनीहरुको रेखदेखको वातावरण सिर्जना गर्न युएनएचसीआर लागिपरेको एडवार्डले बताए ।
‘युएनएचसीआरका कर्मचारीहरु विश्वभर अति नै कठिन परिस्थितिकाबीच आफ्ना परिवारबाट लामो समयसम्म टाढा रहेर समस्यामा परेको मानिसको सेवामा दत्तचित्त रहने गर्छन्’–उनले भने ।
अरू मानवीय सहयोग गर्ने व्यक्तिलाईजस्तो उनीहरुलाई अपहरणको खतरा, हिंसा र धम्की आउन नहुने प्रवक्ता एडवार्डले बताए ।
एडवार्डले आफ्नो संगठनद्वारा सुडानमा दिइँदै आएको सेवालाई आगामी दिनमासमेत निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरे ।
पछिल्ला केही वर्षमा सुडानमा मानवीय सहयोगमा खटिएका कैयौं स्वदेशी तथा विदेशीलाई अपहरण गर्ने गरेको पाइएको छ ।
सन् २००३ मा डाफर प्रान्तमा भड्किएको द्वन्द्वपछि करिब तीन लाख मानिस यस क्षेत्रमा मारिएका र २५ लाखभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्