साढे चारसय वर्ष पुरानो एउटा गुम्बा: जहाँबाट रातारात गायब भए बहुमूल्य मुर्ति(भिडियो हेर्नुहोस) « Image Khabar


साढे चारसय वर्ष पुरानो एउटा गुम्बा: जहाँबाट रातारात गायब भए बहुमूल्य मुर्ति(भिडियो हेर्नुहोस)


Imagekhabar
६ पुष २०७३, बुधबार ११:३६

-रविन भट्टराई,ईमेज

सयौं वर्ष पुराना बहुमुल्य धातु जडित मूर्ती क्रमशः हराउँदै जाँदा गुम्बाको महत्वसमेत घट्दै गएको छ ।

उचित संरक्षण र प्रचारप्रसारको अभावमा ताप्लेजुङको ओलाङ्चुङगोला गाविसमा रहेको नेपालकै पुरानो मानिने डिकिछोईलिङ गुम्बा जीर्ण बन्दै गएको छ ।

करिव ४ सय वर्ष पुरानो यो गुम्बा पुनर्निर्माण हुन सकेको छैन । गुम्बा पुनर्निर्माणसँगै यसको प्रचारमा सम्बन्धित निकायको चासो नदेखाउँदा पर्यटकीय क्षेत्र भए पनि ओझेलमा परेको छ ।

ब्रिटिस नागरिक डाक्टर हुकुमले १८५५ सालमा लेखेअनुसार गुम्बा करिव साढे चार सय वर्ष पुरानो भएको स्थानीय लामा छण्डुक शेर्पाले बताए ।

गुम्बामा लगातार एउटा दियो बालिँदै आएको छ । गुम्बाका लामाहरु यो दियो स्थापना कालदेखिनै लगातार बालिँदै आएको बताउँछन् ।

गुम्बामा बौद्ध धर्मसम्बन्धी ५ हजारभन्दा बढी धर्मग्रन्थ रहेका छन् । पटकपटकको भूकम्पले गुम्बाको दक्षिण र पूर्वपट्टिको भागसमेत भत्किएको छ ।

स्थानीयबासिन्दाले ऐतिहासिक गुम्बालाई विश्वसम्पदा सूचीमा सुचिकृत गर्ने पहल गरिदिन विभिन्न सरकारी निकायलाई घच्घच्याइरहे पनि कुनै चासो नदेखाएको आरोप लामा छण्डुकले लगाए ।

गुम्बामा बहुमुल्य धातु जडित विभिन्न मूर्ति र सामान भए पनि संरक्षणको अभावमा हराउन थालेका छन् । अहिलेसम्म यहाँका १२ वटा बहुमूल्य मूर्ति हराएको स्थानीयको भनाइ छ ।

गुम्बाको रेखदेख गर्दै आएका दोर्जे पराले २०२७ सालमा एक पटक र ज्ञानेन्द्र शाह राजा भएका बेला दोस्रो पटक सरकारी कर्मचारीले यहाँका केही सामान हेलिकोप्टरमार्फत काठमाडौंको स्वयम्भूपछिको भागमा सुरक्षित राख्ने भन्दै लगेको तर ती सामान अहिलेसम्म नदेखिएको बताए ।

९० फिट अग्लो ३ तले गुम्बामा अहिले पनि बौद्ध धर्मअनुसार नियमित पूजाआजा हुने गरेको छ । यो स्थानमा वर्षको एक दिन नेपालका विभिन्न जिल्ला र तिब्बतबाटसमेत लामा आएर पूजाआजा गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्