भरतपुर । चितवनका प्रदेशसभा सदस्य विजय सुवेदीले मरणोपरान्त अङ्गदान गरेका छन् ।
आफ्नो ५६औँ जन्मदिनको उपलक्ष्यमा उनले भरतपुर अस्पतालमा अङ्गदान गरेका हुन ।
उनले मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ अनुसार मृत्युपश्चात मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका छन् ।
भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा उनले मृत्युपश्चात अङ्ग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।
उनी भरतपुर अस्पतालमा अङ्गदान गर्ने पहिलो व्यक्ति हुन । विसं २०२० चैत ५ गते स्याङ्जामा जन्मिएका सुवेदी हाल भरतपुर महानगरपालिका–१२ मा बस्छन् ।
सांसद सुवेदीले अङ्गदानसँगै अस्पताल परिसरमा पिपलका बिरुवासमेत रोपेका छन् ।
उनले भरतपुर अस्पताल विकास समितिको अध्यक्षसमेत भएर काम गरिसकेका छन् ।
मृत्युपश्चात त्यसै माटोमा मिसिने शरीरका अङ्गले दानपश्चात धेरै मानिसलाई सुखी र खुशी जीवन बिताउनसक्ने भएकाले अङ्गदान गरेको उनले बताए ।
कुनै पनि मानिस अङ्गको अभावमा बाँच्न नपरोस् भन्नका लागि अङ्गदानलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।
मानिसले मरणोपरान्त अङ्गदानको विषयमा नबुझेकै कारण कार्यान्वयनमा चुनौती बनेको चिकित्सकले जनाएका छन् ।
दुर्घटनामा परेर जीवन गुमाउनेको अङ्गदान हुनसकेमा नेपालमा अङ्गको पर्खाइमा रहेका बिरामीले जीवन पाउनसक्ने चिकित्सिकको सुझाव छ ।
“यसका लागि सबैमा चेतना हुनुपर्छ”, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले भन्नुभयो, “पहिलोपटक यहाँ शुरुआत गरेका छौँ ।”
पौडेलले मिर्गौला डायलासिस धेरै खर्चिलो रहेकाले प्रत्यारोपणमा जानुपर्ने बताए ।
उनले भने, “सरकारले हरेक प्रदेशमा एउटा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ, प्रदेश नं ३ को भरतपुर अस्पतालमा राख्न हामीले पहल शुरु गरिसकेका छौँ ।”
उनले चितवनमा अङ्गदानलाई अभियानको रुपमा सञ्चालन गर्ने बताए । रासस








प्रतिक्रिया दिनुहोस्