उपत्यकामा साझाका ४० बस नियमित सेवामा, बन्दमा पनि सरर

फाइल फोटो
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको उपत्यका बन्दले अरु सवारी–साधनमा आंशिक प्रभाव पारेपनि साझा यातायातमा भने कुनै प्रभाव परेको छैन ।
यातायातले ३६५ दिन नै सेवा दिने गरेको निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।
‘लगनखेल–रत्नपार्क–नारायणगोपालचोक–नयाँबसपार्क मार्गमा १०, लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपालचोक–बूढानीलकन्ठ मार्गमा १०, एअरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँबसपार्क मार्गमा १० र स्वयम्भू–कलंकी–रत्नपार्क–नयाँबानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० ओटा बस पूर्ववत् सन्चालनमा छन्’–उनले भने ।
साझाका ६ बसले उपत्यकाबाहिर पनि निरन्तर सेवा दिइरहेका छन् । उपत्यकाबाहिर काठमाडौं–बागलुङ दुई, काठमाडौं–वीरगन्ज दुई र काठमाडौं–भैरहवा–लुम्बिनी दुई गरी ६ ओटा बस सन्चालनमा छन् ।
लामो दूरीमा १० डिलक्स बस खरिद गर्ने निर्णय भइसकेको साझाले जनाएको छ ।
उपत्यकामा थप बस सन्चालनका लागि काठमाडौं महानगरपालिकाले थप रु पाँच करोड लगानी गर्ने भएको छ
अन्य नगरपालिका र जिल्ला विकास समितिसँग पनि सहकार्य एवं लगानीका लागि अनुरोध गरिएको निमित्त महाप्रबन्धक पाण्डेले जानकारी दिए ।
साझा यातायात सहकारी संस्थाको स्थापना वि.सं. २०१८ मा भएको हो । सहकारीले वि.सं. २०१९ देखि सार्वजनिक सेवाका लागि साझा यातायात सन्चालनमा ल्यायो । सन्चालनका क्रममा साझा बन्द हुने र खुल्नेक्रम चलिरह्यो ।
पछिल्लोपटक वि.सं. २०५८ माघ ११ गते सरकारले साझालाई खारेज गर्ने निर्णय गर्यो ।
सो निर्णयकाविरुद्ध साझाका केही कर्मचारी र सेयर होल्डर अदालत गए । अदालतले वि.सं. २०५९ माघ १५ गते खारेजको निर्णय बदर गर्यो । वि.सं.२०६० वैशाखदेखि साझाको व्यवस्थापन सुरु भयो । जेठदेखि त्यहाँ रहेका बस मर्मत गरेर र निजी क्षेत्रसँग सहकार्य गरी सन्चालन हुन थालेका थिए ।
साझाले निजी क्षेत्रसँगको सहकार्यमा चीनको ल्हासा र भारतको नयाँ दिल्लीमा पनि सीधा बससेवा सुरु गरेको थियो । विविध कारणले २०६२/२०६३ को आन्दोलनकाबेला सेवा प्रभावित भयो ।
पछि फेरि २०७० साल वैशाख १ गतेदेखि साझाले पुनर्जीवन पायो । हाल देशभर साझाका ४६ सवारी सन्चालनमा छन् ।
साझामा महानगरपालिकाको ८६ प्रतिशत, सरकारको १० प्रतिशत र चार प्रतिशत सर्वसाधारण एवं संगठित संस्थाको सेयर छ ।
हाल २२५ साझाका सेयर सदस्य छन् । यतिखेर साझा समग्रमा नाफामा रहेको निमित्त कार्यकारी अधिकृत पाण्डेले बताए । रासस