जनकपुर–जयनगर, काठमाडौं मेट्रोरेल, उत्तर–दक्षिण नाका जोड्ने रेलमार्गको के हुँदैछ काम ? « Image Khabar


जनकपुर–जयनगर, काठमाडौं मेट्रोरेल, उत्तर–दक्षिण नाका जोड्ने रेलमार्गको के हुँदैछ काम ?


Imagekhabar
७ पुष २०७३, बिहीबार १५:०५

समितिको विहीबार बसेकोे बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, मन्त्रालयका सचिव र रेल विभागका महानिर्देशकलाई काठमाडौं मेट्रोरेलको काम अगाडि बढ्ने गरी पुनः सम्भाव्यता अध्ययन गर्न, रेलमार्गमा पर्ने जग्गाको क्षतिपूर्ति दिन र अन्य जग्गा संरक्षण गर्न, नदीजन्य सामग्री (ढुंगा, गिट्टी, बालुवा)कोमात्रै भर नपरी खानीको सामान उपयोग गर्न पनि भनेको छ ।

समितिले नेपालका विभिन्न क्षेत्रमा रेलसेवा पुर्‍याउनका लागि समग्रमा ‘रेल सञ्जाल कार्ययोजना’ बनाउन पनि निर्देशन दिएको छ ।

उत्तर–दक्षिण नाका जोड्ने रेलमार्ग निर्माणबाट देशको आर्थिक विकासको आधार निर्माण हुने र त्यसबाट विश्वका अन्य देशसँग व्यापारिक पहुँच बढ्ने भएकाले समग्र कार्ययोजना बनाउन निर्देशन दिएको हो ।

काठमाडौंमा मेट्रोरेल चलाउनका लागि यसै वर्षबाट काम प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपालमा रेलमार्ग निर्माणका लागि विभिन्न देशसँगसमेत छलफल भइरहेको उल्लेख गरे ।

‘पूर्व–पश्चिम, उत्तर–दक्षिण रेलमार्ग निर्माण गर्नेबारे आवश्यक तयारी भइसकेको छ, चाँडोभन्दा चाँडो पीटीआर तयारबारे प्रक्रिया अगाडि बढेको छ’– मन्त्री लेखकले भने ।

सभापति रवीन्द्र अधिकारीले चीन र भारतलगायतका मुलुकमा रेल यातायात राम्रो रहको अवस्थामा नेपालले पनि रेल नेटवर्कलाई प्रभावकारी बनाउन कार्ययोजनाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

समितिका सदस्य तथा सांसदहरू चिनकाजी श्रेष्ठ, महेन्द्र यादव, रामकृष्ण घिमिरे, शान्ता मानवी, शिवजी यादव र ललितजंग शाहीलगायतले जतिसक्दो चाँडो रेलमार्ग निर्माणमा जोड दिए ।

मन्त्रालयका सचिव धनबहादुर तामाङ र रेल विभागका निर्देशक आनन्द आचार्यले रेलमार्गबारे धेरै काम अगाडि बढिसके पनि विविधि समस्याका कारण ढिलाइ भइरहेको समितिलाई जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्