प्रधानन्यायाधीशले प्रधानमन्त्रीको नामै लिएर भनिन्–‘अदालतमा राजनीति छिर्न दिन्नँ’

६०औं बार दिवसको अवसरमा विहीबार ललितपुरमा गरिएको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कुनै राजनीतिक दल विशेष वा सरकारको पक्ष लिएर आफूले न्याय सम्पादन नगर्ने स्पस्ट पारेकी हुन् ।
उनले अदालतलाई राजनीति गर्ने थलोकोरुपमा नबुझ्न र अदालतलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण मिलाइदिन पनि उनले दलहरुलाई आग्रह गरे ।
आफू प्रधानन्यायधीश भएर आएपछि अदालतमा धेरै परिवर्तन गरौं भन्ने सोच बनाएको भएपनि सरकारको कार्यशैलीका कारण काम हुन नसकेको उनको गुनासो थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नामै उल्लेख गर्दै प्रधानन्यायाधीश कार्कीले ‘कार्यकर्ता खुसी पार्नका लागि बोल्ने कुराहरुमा आफूले कुनै प्रतिक्रिया जनाउनु जरुरी छैन’–भनिन् ।
न्याय सम्पादन गर्दा भ्रष्टाचारसम्बन्धी मुद्दालाई विशेष प्राथमिकतामा राखेको भन्दै प्रधानन्यायाधीश कार्कीले नेतालाई खुसी पार्न मुद्दाको मर्मलाई कुनै हालतमा मर्न नदिने स्पस्ट पारिन् ।
सर्वोच्चमा रिक्त रहेका न्यायाधीश पदमा कुनै नेताका आफन्त वा अयोग्य व्यक्तिलाई कुनै हालतमा नपठाउने अडान पनि उनले व्यक्त गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता शेखर कोइराला, नेकपा एमालेका उपाध्यक्ष भीम रावललगायतले संविधान कार्यान्वयनका लागि आ–आफ्नो ठाउँबाट प्रभावकारी भूमिका खेल्न कानुन व्यवसायीहरुलाई आग्रह गरेका थिए ।