३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सातौं राष्ट्रिय खेलकुद आजबाट, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने


0
Shares

आज दिउँसो विराटनगरको शहिद रंगशालामा आयोजना हुने एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सप्तरीमा हुँदैछन् ।

प्रतियोगितामा कुल ३० खेल समावेश गरिएको छ । जसमध्ये फुटबल र भलिबलका खेल दुहवी र धरानमा सुरु भइसकेका छन् । आर्चरी, स्क्वास, फेन्सिङ र साईक्लिङको पदकलाई तालिकामा गणना गरिने छैन ।

मौसम र भूगोलका कारण पूर्वमा अहिले गर्न कठिन हुने ट्राएथ्लन, पौडी र शारीरिक सुगठनका खेल काठमाडौंमा सम्पन्न भईसकेका छन् । गल्फ र विलियार्ड तथा स्नुकर सम्बन्धित खेलकुद संघले आफ्नै खर्चमा आयोजना गर्दैछन् । सातौं राष्ट्रिय खेलकुदमा रग्बी, रक क्लाईम्बीङ, साम्बो, डान्स स्वोर्ट्स र दोहोरीलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ ।

प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झण्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई पहिलो पटक नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

व्यक्तिगत स्पर्धाका विजेताले जनही १५ हजार पाउनेछन् भने टिम स्पर्धाका विजेताले ७ हजार पाउनेछन् । २८ करोडको लागतमा सम्पन्न हुने सातौं राष्ट्रिय खेलकुदको समापन समारोह यही पुस १५ गते धरानमा हुनेछ । राष्ट्रिय खेलकुदको छैटौं संस्करण ५ वर्ष अघि २०६८ साल फागुनमा सुदरपश्चिमको धनगढी र महेन्द्रनगरमा भएको थियो ।