
काठमाडौं, फागुन ५ । रङको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ ।
काठमाडौं उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत् समुदायसँग मिलेर प्रचार–प्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनकाअनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत् प्रहरी र समुदायले संयुक्त अभियानमार्फत् प्रचारात्मक र्यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको छ ।
तर, उच्छृंखल देखियो भने कारबाही हुने उनले चेतावनी दिए ।
यो वर्ष काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा चैत ६ गते र तराईमा चैत ७ गते होली मनाइन्छ । भित्री मधेसका कतिपय जिल्लामा भने होली दुवै दिन मनाउने गरिन्छ ।
रङ दलेर होली एकापसमा भाइचाराका साथ खुसी मनाउँदै सद्भाव साटासाट गर्ने पर्व हो ।
तर, पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृंखल गतिविधि देखिने गरेको छ ।
यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयलाई पनि घटना भएपछि पक्राउ गर्नुभन्दा घटना हुन नदिनका लागि विभिन्न कार्यक्रम गरी सचेतना अभियान सन्चालन गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटना हुन नदिन सुरुमै प्रचारात्मक कार्यक्रममार्फत् सचेत बनाउँदै संस्कृति र परम्पराअनुसार होली खेल्न अनुरोध गरिएको छ । पर्वका दिन कुनै उच्छृंखलता देखियो भने पक्राउ गरी कारबाही गरिने बताए ।
समुदाय र प्रहरीको संयुक्त अभियान जारी रहेकाले विगतकोभन्दा घटना न्यूनीकरण हुने विश्वास उनको भनाइ छ ।
यसपटक काठमाडौंमामात्रै १०७ स्थानमा ‘चेक प्वाइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
होलीको दिन बुधबार सादा पोसाकमा दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ ।
काठमाडौंका वसन्तपुर, टुँडिखेल, सामाखुसी, टोखा, महाराजगन्जलगायत १८ स्थानमा होली कार्यक्रम सन्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न संघ–संस्थाले अनुमति लिएका छन् ।
सो क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोगटीले इच्छाविपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहारअन्तर्गत् कानुनी कारबाही हुने उल्लेख गरे ।
‘सबैलाई मेरो विनम्र अनुरोध छ, होलीलाई संस्कृतिअनुसार शान्तिपूर्ण तवरले मनाइदिनु होला’–बोगटीले थपे ।
यस्ता गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिनसमेत आह्वान गरिएको छ ।
काठमाडौं उपत्यकाको तीन जिल्ला हेर्ने महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले होलीलाई नै केन्द्रित गरेर सुरक्षा योजना बनाएको जानकारी दिँदै शंकास्पद क्षेत्रमा विशेष निगरानीका साथै सुरक्षाकर्मीसमेत थप गरिएको बताए ।
उनले होलीमा अवाञ्छित गतिविधि नहोस् भनेर अहिलेदेखि नै काठमाडौं, ललितपुर र भक्तपुरमा समुदायसँग समन्वय गरी सचेतना अभियान सन्चालन गरिएको जानकारी दिए ।
सतहत्तररै जिल्लाले तीन दिनदेखि नै होली विशेष सुरक्षा योजनाअन्तर्गत् प्रचारात्मक कार्यक्रम अघि बढाएको र मापसे चेकजाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद् बनाइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।
उनकाअनुसार सादा पोसाकका प्रहरी, घुमुवा प्रहरी र गस्ती टोलीसमेत बढाइएको छ ।
हिरन्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुन्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिकाले प्रल्हादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रल्हादलाई केही नभएको किम्बदन्तीअनुसार त्यसैको खुसियालीमा एकापसमा रङ दलेर होली मनाउने प्रचलन छ । रासस
“
प्रतिक्रिया दिनुहोस्