काठमाडौं, चैत ५ । काठमाडौं महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो)मार्फत् सडक सफा गर्ने भएको छ ।
अघिल्लो सोमबार इटलीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।
अहिले ती ब्रुमर सन्चालन गर्न चालक र सहचालकलाई तालिम दिने कामसँगै पाटपुर्जा जडानकाक्रममा रहेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
उनकाअनुसार बिहीबारसम्म सन्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइनेछ ।
नियमितरुममा कुन–कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डंगोलले बताए ।
कानुनीरुपमा ८ मिटरभन्दा कम चौडाइका सडकमात्र कामपाकोे जिम्मेवारीमा पर्छ ।
अबको केही दिनमा कुन–कुन स्थानमा उक्त यन्त्र प्रयोग गर्ने भन्ने यकिन हुनेछ ।
ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।
यसअघि, विशिष्ट व्यक्तिको आवत–जावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो ।
कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ ।
गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।
सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चारओटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताका छन् ।
ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धुलो संकलन गर्नसक्ने क्षमता रहेको छ ।
युरो मापदन्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँ–बायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्नसक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।
पछिल्लो समय निर्माण तीव्ररुपमा भइ धुलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । रासस








प्रतिक्रिया दिनुहोस्