
काठमाडौं, चैत ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले पर्याप्त तयारीविनाको लगानी सम्मेलनको कुनै अर्थ नहुने टिप्पणी गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा पेस गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद अधिकारीले प्रयाप्त तयारीविना र हतारमा कानुन पास गर्दैमा सम्मेलनको कुनै अर्थ नहुने बताए ।
दुई विधेयक दफावार छलफलका लागि विधायन समितिमा
यसैबीच, राष्ट्रियसभाको मंगलबारको बैठकले दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक, २०७५ र राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई सर्वसम्मत् पारित गरी समितिमा पठाएको हो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेकी थिइन् ।
यसैगरी, युवा तथा खेलकुदमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । दुवै प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्