मेलम्ची खानेपानीको सुरुङ पाँच किलोमिटरमात्र बन्न बाँकी « Image Khabar


मेलम्ची खानेपानीको सुरुङ पाँच किलोमिटरमात्र बन्न बाँकी


Imagekhabar
१२ पुष २०७३, मंगलवार १६:०६

                                                                           फाइल फोटो
‘यही गतिमा काम जारी रहे २०७४ साल भदौ महिनाभित्रमा सुरुङमार्ग खन्ने काम सम्पन्न हुन्छ । कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटरमात्र निर्माण गर्न बाँकी छ’–खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले राससलाई जानकारी दिए ।

यो नेपालको पहिलो सुरुङमार्गसमेत हो ।

उनका अनुसार अहिले सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे ९ किमिमध्ये १० मिटरमात्र टनेल निर्माणकार्य बाँकी रहेको छ । यो एक हप्ताभित्र सो १० मिटर निर्माण सम्पन्न हुने मन्त्रालयले विश्वास लिएको छ ।

साथै, सिन्धुदेखि ग्यालथोक र ग्यालथोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य द्रुतगतिमा भइरहेको सचिव उपाध्यायले बताए ।

सन् २००९ मा टनेल निर्माणकार्यको जिम्मा पाएको चिनियाँ कम्पनीले काम नगरेपछि सरकारले सन् २०१३ मा सो सम्झौता रद्द गरी इटालियाली कम्पनीलाई जिम्मा दिएको थियो ।

‘हामीलाई हाल कार्यरत इटालियाली कम्पनीले आगामी भदौ महिनाभित्र टनेल निर्माणको पहिलो चरण पूरा गरिसक्ने जानकारी गराइसकेको छ’–उनले भने ।

मन्त्रालयले टनेल निर्माणमा मात्र रु २४ अर्ब लाग्ने जनाएको छ । सो टनेलबाट करिब १७ हजार करोड लिटर पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा झर्नेछ ।

हाल सो प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ ।

टनेलको काम सम्पन्न भएपछि उपत्यकावासीले आगामी असोजसम्ममा मेलम्चीको पानी उपयोग गर्न पाउने मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्