२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ट्र्याक खुलेको ६० वर्षपछि स्तरोन्नति हुँदै कान्ति लोकपथ


0
Shares

वि.सं. २०१३ मा ट्र्याक खुलेको एक लेनको यो सडकमा २०१६ सालदेखि सवारी सन्चालन सुरु भएको थियो ।

ललितपुर र मकवानपुरको सीमास्थित बागमती नदीमा पुल नभएको र कच्ची–धुले सडक भएकाले वर्षमा ९ महिनाजतिमात्र यो सडकमा सवारी चल्थ्यो । ९ महिना पनि नियमित सवारी नचल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

नेपाली सेनाले निर्माण गरेको यो राजमार्ग ६० वर्षसम्म ओझेलमा पर्‍यो । वि.सं. २०५९ मा काठमाडौं, हेटौंडा जोड्ने छोटो दुरीको यो मार्गलाई वैकल्पिकरुपमा विकास गर्न कोरियाली सरकारको सहयोगमा विस्तृत् परियोजना प्रस्ताव तयार गरिएको थियो ।

ललितपुरको चापागाउँ दोबाटोबाट मकवानपुरको हेटौंडास्थित बुद्धचोकसम्म ९० किमी दुरीको यो मार्गलाई सरकारले आव २०६५/६६ देखि कान्ति लोकपथ सडक योजना स्थापना गरी स्तरोन्नति सुरु गरेको हो ।

स्तरोन्नतिको काम सुरु भए पनि प्रभावकारीरुपमा काम हुन नसकेपछि व्यवस्थापिका–संसदको विकास समितिले २०७१ मा यस मार्गलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दियो ।

समितिको निर्देशनमा प्राथमिकता प्राप्त योजनाकारुपमा सुरु भएको यो सडक विस्तार एवं स्तरोन्नतिको अवलोकनका लागि सोमबार मन्त्री र सांसदको टोलीले अनुगमन गरेका छन् ।

अनुगमनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, समिति सभापति रवीन्द्र अधिकारी, समितिका सांसद, मन्त्रालयका सचिव धनबहादुर तामाङ र सडक विभाग एवं योजनाका अधिकारी सम्मिलित समूहको सहभागिता थियो ।

अनुगमनपछि मन्त्री लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको कान्ति लोकपथ निर्माणमा रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

‘तोकिएको समयमा काम सक्न विभाग, योजना र निर्माण व्यवसायीले समन्वय गरी काम गर्नोस्, काममा कुनै बाधा व्यवधान आएमा मन्त्रालयले फुकाउनेछ’–स्तरोन्नति तोकिएकै समयमा सक्न निर्देशन दिँदै उनले भने ।

समिति सभापति अधिकारीले दक्षिणकाली, सिस्नेरी–भीमफेदी सडक साँघुरो र त्रिभुवन राजपथमा धेरै चाप हुने समस्यालाई समाधान गर्न कान्ति लोकपथ वैकल्पिक हुने भएकाले छिटो स्तरोन्नति सम्पन्न हुनुपर्ने बताए ।

‘लोकपथ वि.सं. २०७५ सम्म पूरा गर्न जिम्मेवार सबै निकायले तोकिएको काम गर्नुपर्छ, यसका लागि आवश्यक समन्वय गर्न समिति तयार छ, पूर्वी एवं पश्चिम नेपाल र तराईलाई जोड्ने पनि यो मार्ग वैकल्पिक हुनसक्छ, यसले समृद्धिको ढोका खोल्नेछ’–उनले भने ।

वि.सं. २०७५ सम्ममा उक्त मार्ग कालोपत्रे गरिसक्ने योजना छ । सडक दुई लेनमा चौडा गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरतर्फ रु एक अर्ब १० करोड खर्च लाग्ने लोकपथ योजनाले जनाएको छ ।

ललितपुरको चापागाउँ दोबाटोदेखि हेटौंडाको बुद्धचोकसम्म ९० किमी लम्बाई र तीनदेखि पाँच मिटर चौडाई रहेको यो लोकपथलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्ने कार्यक्रम रहेको योजना प्रमुख देवेन्द्र साहले बताए ।

‘सडक विस्तार एवं स्तरोन्नतिका लागि विद्युत् प्राधिकरणका पोल, नेपाल टेलिकमको तार र खानेपानीको पाइप हटाउन समस्या भएको छ, सडक एक लेनबाट दुई लेनमा विस्तार गर्न जग्गाप्राप्ति पनि समस्या बनेको छ’–उनले भने ।

बुद्धचोकदेखि ललितपुरको टीकाभैरव पुलसम्म ७९ किमी सडक चौडा बनाउन कन्टेक प्रालि, एससीसी मोतिदान जेभी, महालक्ष्मी सिं एन्ड ब्रदर्स जेभी, कञ्चनजंघा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ । टीकाभैरव पुलदेखि चापागाउँ दोबाटोसम्म ११ किमी चौडा गर्ने कार्य सडक डिभिजन कार्यालय ललितपुरले गर्नेछ ।

लोकपथ स्तरोन्ततिका लागि सरकारले अघिल्ला आवमा रु पाँच÷पाँच करोड बजेट छुट्याउँदै आएकोमा चालुु आवमा रु ३९ करोड विनियोजन गरेको छ । यसअघि सरकारले यस योजनामा झन्डै रु ४७ करोड खर्च गरिसकेको छ ।

यो लोकपथलाई दक्षिणकाली, सिस्नेरी, भीमफेदी सडकखन्ड र त्रिभुवन राजपथको विकल्पकारुपमा विकास गर्न लागिएको हो ।

कान्ति लोकपथको ट्र्याक निर्माण भएको झन्डै ६० वर्षसम्म पनि सरकारको प्राथमिकतामा नपर्दा निर्माणकार्य अघि बढ्न नसकेपनि ढिलै काम सुरु हुँदा खुसी लागेको भट्टेडाँडा–५, छपेलीका फणिन्द्र बजगाइँ बताउँछन् ।

लोकपथ निर्माण भएसँगै ललितपुरका दुर्गम दक्षिणपूर्वी भेग र मकवानपुरको उत्तरपूर्वी भेगका बासिन्दाको जीवनस्तरमा परिवर्तन आउने ललितपुर र मकवानपुरको सीमास्थित भट्टेडाँडा–९ काल्चेखोलाका स्थानीयवासी रामबहादुर थिङको भनाइ छ ।

सडक विस्तारसँगै ललितपुरका झाँक्रीभीर र काल्चेखोलालगायत स्थानमा पहिरो गएको छ । विस्तारमा चट्टानको पहाड आएका स्थानमा काम ढिला भएको योजनाले जनाएको छ ।