जुडोको स्वर्णपदकधारी सुनिताको संघर्षको कथाः आफैं प्रशिक्षक, आफैं खेलाडी « Image Khabar


जुडोको स्वर्णपदकधारी सुनिताको संघर्षको कथाः आफैं प्रशिक्षक, आफैं खेलाडी


Imagekhabar
१३ पुष २०७३, बुधबार १७:२०

म्याचमा उत्रेपछि उनको लक्ष्य स्वर्णपदक चुम्नेमात्र हुन्छ । अहिलेसम्म खेलपिच्छे प्राय स्वर्णपदकमा कब्जा पनि जमाएकी नै छन् ।

पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजतपदकमा चित्त बुझाएपनि त्यसपछिको छैटौं र सातौं राष्ट्रिय खेलमा सुनिताले लगातार स्वर्णपदक जितिन् ।

कन्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरका उनले स्वर्णपदक सहजै जितेकी भने होइन ।

कन्चनपुरकै पहिलो जुडो खेलाडी सुनिताले जुडो खेल्न थालेको ६ वर्षमा पाँच स्वर्ण र एउटा रजतपदक जितिसकेकी छन् । जुडो खेलेदेखि उनले त्यसमा प्रशिक्षण पनि दिँदै आएकी छन् ।

‘म आफैं प्रशिक्षक, आफैं खेलाडी हुँ’–स्वर्ण पदक जितेपछि झापाको धुलाबारीमा रासससित उनले भनिन् ।

‘प्रतियोगितामा जति खेलाडीसँग भिडें, साँझ–बिहान घरमा उनीहरुकै सिको गरेर जुडोको अभ्यास गर्ने गरेको थिएँ’–उनले बताइन् ।

सुनिताले २०६५ सालदेखि आफैंले आफूलाई प्रशिक्षित पार्दै आएकी छन् ।

त्यतिबेला जुडोको एक्लो खेलाडीकारुपमा रहेका उनले अहिले १० खेलाडी तयार पारिसकेकी छन् ।

वि.सं. २०६८ फागुनमा सुदूरपश्चिममा आयोजना गरिएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनितासँगै आशिश ओझाले कन्चनपुरबाट सहभागिता जनाएका थिए । सो प्रतियोगिताामा दुबैजनाले स्वर्णपदक जितेका थिए ।

अहिले पूर्वाञ्चलमा सातौं राष्ट्रिय प्रतियोगितामा उनले उत्पादन गरेका सात खेलाडी छन् ।

सुरुआतमा सुनिता कराँते खेल्थिन् । चार कक्षा पढ्दादेखि उनी कराँतेमा होमिएकी हुन् । तर, पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेको क्षेत्रीय छनोट प्रतियोगिताबाटै बाहिरिएपछि उनको मन कुँडियो ।

सँगैका साथि राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटे । तर, सुनिता पीडा खप्न नसकेर घरमै बसिन् ।

‘निराश भएर घरमै बसेकी थिएँ, एकजना साथीले जुडोको छनोटका लागि भाग लिन सल्लाह दिइन्’–उनले विगत सम्झँदै भनिन्–‘नाममात्र सुनेको खेलको छनोटमा कसरी सहभागी हुने, सम्झनै सकिन, तर साथीको करकापले छनोटमा सहभागी भएँ ।’

तेक्वान्दो खेलाडी निर्मला चौधरीले ख्याल–ख्यालमै दिएको सल्लाहकै कारण सुनिता अहिले जुडो खेलाडीकोरुपमा स्थापित भइसकेकी छन् ।

निर्मलाले सुनितालाई कन्चनपुरको खुल्लामञ्चमा जुडोका प्रशिक्षक हरि श्रेष्ठलाई भेटाइदिइन् । यो पाँचौं राष्ट्रिय प्रतियोगिता सुरु हुन १० दिनअघिको कुरा थियो ।

बाँकेका जुडो प्रशिक्षक श्रेष्ठ खेलाडीको खोजी गर्दै कैलालीको धनगढी हुँदै भीमदत्तनगरसम्म पुगेका थिए ।

कम तौलका खेलाडी भेटाएपनि बढी तौलका खेलाडीको अभाव थियो जुडोमा । ८५ किलो तौलको हाराहारी भएकै कारण प्रशिक्षक श्रेष्ठले सुनितालाई जुडो खेल्न कर गरे ।

अनि उनले सुनितालाई सोझै धनगढी लगेर जुडो सिकाउन थाल्दा पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा काठमाडौंमा भिड्ने पक्का–पक्की भयो । उक्त तौल समूहमा उनी सुदूरपश्चिमको एक्लो खेलाडी हो । सो क्षेत्रमा उनको प्रतिस्पर्धी कोही पनि भेटिएनन् ।

‘आफ्नो तौल बढी हुनु नै मेरा लागि अवसर बन्यो’–उनले भनिन्–‘दुई दिनसम्म जुडो खेलबारे बुझ्नै समय लाग्यो । बाँकी ८ दिनको अभ्यासकाभरमा प्रतिस्पर्धाका लागि काठमाडौंतर्फ लागें र सो प्रतियोगितामा रजतपदक जित्न सकें । त्यसयता हरेक प्रतियोगितामा स्वर्णपदक जित्दै आएकी छु ।’

‘पदकले हौसला बढायो, खेल्न उत्साहित बनायो’–विगत सम्झँदै सुनिताले भनिन्–‘पाँच वर्षअघि सुदूरपश्चिममै सम्पन्न छैटौं राष्ट्रिय प्रतियोगितामा मैले स्वर्णपदक पाएँ । यसपालि सातौंमासमेत स्वर्णपदकमा कब्जा जमाउन सकें । छैटौंलगत्तै काठमाडौंमा सातौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमासमेत स्वर्णपदक जितेको थिएँ ।’

कञ्चनपुरको खुल्लामञ्चमा अभ्यासमा जाँदा उनी जुडोको एक्लो खेलाडी । त्यसैले सुनिताले अधिकांश समय कराँते खेलाडीसँगै अभ्यास गर्दै आइन् ।

‘अभ्यासै नगर्दा खेल्न नसकिएला भन्ने डर’–उनले भनिन्–‘कराँतेकै अभ्यासकाभरमा नै मैले २०६८ सालमा छैटौं राष्ट्रिय प्रतियोगितामा जुडोमा ७८ किलोमाथिको तौलमा स्वर्णपदक पाएँ ।’

जुडोले उनको मन लोभ्याएको छ । घर–परिवारको साथ र सहयोग पाउँदासम्म स्वर्णपदकका लागि खेलिरहने सुनिताले प्रतिज्ञा गरेकी छन् ।

प्रशिक्षणबिना नै कुनै खेलाडीले जुनसुकै खेलमा पनि स्वर्णपदक चुम्नु चानचुने कुरा होइन् । त्यो पनि पाँच/पाँचपटक । अझ विभागीय खलाडीको दबदबा रहेको स्थितिमा मोफसलका खेलाडीले स्वर्णपदक जित्नु दुर्लभ नै मानिन्छ ।

तर, २३ वर्षीया सुनिताले भने उक्त चमत्कार देखाउँदै आएकी छन् ।

पाँच वर्षअघि काठमाडौंमा सम्पन्न सातौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा सुनिताले ७८ किलोमाथिको तौलमा स्वर्णपदक जितिन् ।

उनले उक्त खेलमा श्रीलंकाका खेलाडी दमयन्ती हेवा हम्बेपितियालाई इपोन (नकआउट) गरिन् । ‘वेस्ट अफ थ्री’ मा सुनिताले दुईपटक विपक्षी खेलाडीलाई नकआउट गरिन् । चार मिनेटको खेलमा उनले एक मिनेट ३६ सेकेन्डमै खेल आफ्नो पक्षमा पारिन् ।

सात वर्षको उमेर हुँदा कराँते खेल्न थालेकी सुनिताले कराँतेमा ‘सेकेन्ड डन’ बेल्ट पाएकी थिइन् । तर, उनी सन्तुष्ट हुन सकिनन् ।

‘बेल्ट पाउनु उपलब्धि होइन रहेछ, पदक जित्नु ठूलो कुरा हो’–उनले भनिन्–‘नेपालमा खेलाडीलाई आत्मसन्तुष्टी दिलाउने भनेकै पदकले हो, अरु यहाँ के नै पो छ र !’

राम्रो खेलकै कारण नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको ‘पल्सर स्पोर्ट्स अवार्ड २०७०’ अन्तर्गत् उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा पर्नुको साथै उक्त विधाको पुरस्कारसमेत सुनिताले पाएकी थिइन् ।

सुदूरपश्चिममा जुडो धनगढी र भीमदत्त नगरमामात्र खेलिन्छ । तर, त्यहाँ पनि प्रशिक्षक भने छैनन् ।

आफैं गुरु, आफैं चेला बनेर सुदूरको जुडो खेलअघि बढेको अवस्था छ । ‘अहिलेसम्म प्रशिक्षणबिना नै प्रतियोगितामा भाग लिँदै आएकी छु’–उनले भनिन् ।

लामो समयसम्म भीमदत्त नगरमा जुडोको एक्लो खेलाडी हुनुपर्दाको सुनितालाई मनमा औधी पीडा थियो । तर, अहिले उनले अरुलाईसमेत जुडोमा आकर्षित गरिसकेकी छन् ।

‘मैले पाएको स्वर्णपदकको लोभ देखाएरै जुडो खेल्न अरुलाई हौस्याउने गरेको छु’–उनले भनिन् ।

मोटो शरीरकी सुनिता सानै छँदा बिरामी भइरहन्थिन् । बुबा जंगलाल र आमा कलावतीले कर गरेरै एक्ली छोरीलाई खेल्न प्रेरणा दिए । उनका छिमेकी देवीका सिंह कराँते खेल्थिन् ।

सुनिका अनुसार ‘देवीकालाई देखेरै सुनिताका बा–आमाले स्वास्थ्य ठीक राख्न बलजफ्ती उनलाई कराँते सिक्न कभर्डहल पाएका हुन्, खेलप्रतिको मोहले भने होइन ।’

प्रतिक्रिया दिनुहोस्