तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को केन्द्रीय कार्यालय बिजुलीबजारमा विहीबार बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउने निष्कर्ष निकालेको छ ।
बैठककाबारेमा जानकारी दिँदै तमलोपा उपाध्यक्ष वृशेषचन्द्र लालले संविधान संशोधन गरी निर्वाचन गर्दा थोरै भएपनि मोर्चाका माग सम्बोधन हुने र आफूहरु निर्वाचनमा जानसक्ने बताए ।
बैठकमा मुलुकको समसामयिक राजनीति र राजनीतिक गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको जानकारी दिँदै उनले भने–‘मोर्चाले संविधान कार्यान्वयन होस् भन्ने चाहेको छ । त्यसका लागि हामीले लचकता अपनाएका छौं ।’
मोर्चाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले संविधानको मूल मर्मविपरीत काम गरेको निष्कर्ष निकाल्दै विशेष, संरक्षित र स्वायत्त क्षेत्रकाबारेमा कुनै कार्य नगरेको आरोप लगाएको छ ।
बैठक शुक्रबार (भोलि) पनि बस्ने र शुक्रबार नै पत्रकार सम्मलेन गरी बैठकका निर्णय सार्वजनिक गरिने उनले जानकारी दिए । रासस





प्रतिक्रिया दिनुहोस्