२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


देशभरका ४३ अस्पतालबाट निःशुल्क डायलाइसिस सेवा


0
Shares

सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ ओटा स्वास्थ्य संस्थालाई सो सेवा प्रदान गर्न अनुमति दिएको हो ।

यो अनुमतिसँगै मुलुकभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ ।

अनुमति प्राप्त गर्नेमा उपत्यकाका वीरेन्द्र सैनिक अस्पताल, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, अल्का अस्पताल, सुमेरु अस्पताल, हिमाल अस्पताल, बयोधा अस्पताल रहेका छन् भने उपत्यकाबाहिर रुपन्देहीको गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको चिकित्सा व्यवस्थापन महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।

अहिले मानवअंग प्रत्यारोपण केन्द्र, मिर्गौला केन्द्र र चारओटा अञ्चल अस्पतालसहित ३२ अस्पतालमा सरकारले निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ ।

डायलाइसिस गरेबापत सरकारले सो रकम त्यस्ता स्वास्थ्य संस्थालाई उपलब्ध गराउने व्यवस्था रहेको उपसचिव लामिछानेले बताए ।

‘बाँकी सबै अञ्चल अस्पतालमा पनि सरकारले निःशुल्क डायलाइसिस सेवा सन्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ’–उपसचिव लामिछानेले भने ।

दुईओटा डायलाइसिस मेसिन किनेर सेवा सुरु गर्न सरकारले प्रत्येक अञ्चल अस्पताललाई आवश्यक रकम उपलब्ध गराइसकेको छ ।

यतिखेर सेती अञ्चल अस्पतालसहित केही अस्पतालमा सो सेवा सुरु भइसकेको स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । रासस