नेताको कामबाट निरास रोल्पाली बिदेसिन बाध्य, भन्छन्ः ‘दश बर्ष लडेर के पाइयो ?’ « Image Khabar


नेताको कामबाट निरास रोल्पाली बिदेसिन बाध्य, भन्छन्ः ‘दश बर्ष लडेर के पाइयो ?’


Imagekhabar
१५ पुष २०७३, शुक्रबार ०९:३०

-कविता उपाध्याय

दशवर्षे सशस्त्र द्वन्द्वका कारण थिलथिलो परेको रोल्पाको मुटु र टुक्राटुक्रामा विभक्त भएका रोल्पालीका मनमा अझै पनि महलमपट्टी लगाउन नसके इतिहासले सबैलाई धिक्कार्ने रोल्पाली जनताले बताएका छन् ।

“हाम्रा प्रतिनिधिले प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति तथा उपप्रधानमन्त्री जस्ता गरिमामय पद र ओहदामा बसी सिङ्गो देशकै जिम्मेवारी सम्हाली रहँदा रोल्पा र रोल्पाली जनताको मुहार फेरिनुपर्ने हो तर त्यसो हुन सकिराखेको छैन,” गजुल रोल्पाका कुमार विकले भभने ।

विकले भने- “दशवर्षे सशस्त्र युद्ध सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बन्दुक बाकसमा राखेर हामी रोल्पाली नै कलम बोकेर शासन सत्ताको जिम्मा लगाएका थियौँ तर उहाँले पनि रोल्पा र रोल्पाली जनताको गुन तिर्न बिर्सनुभएको छ” । पटकपटक प्रधानीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका दाहालले रोल्पा र रोल्पाली जनताको बेवास्ता गरेको उनको आरोप छ ।

“राजा हुँदा पनि हामी रोजीरोटीका लागि वैदेशिक रोजगारीमा थियौँ अहिले आफ्ना प्रतिनिधिले देश चलाउँदा पनि दुई छाक टार्नकै लागि विदेशी भूमिमा पसिना चुहाउनुपर्छ भने के फरक भयो राजा र जनताको शासनमा ?”, उनले सत्ताधारीलाई प्रश्न गरे ।

बा¥ह वर्षको कलिलो उमेरदेखि दुई छाक टार्नकै लागि विकले भारत, दुबई, मलेसिया लगायतका विभिन्न देशमा पसिना चुहाइसकेका छन् ।

तेत्तीस वर्षीय विकका घरमा वृद्ध बुबा, श्रीमती र स–साना छोराछोरी छन् । तर आम्दानीको बाटो नहुँदा बिहान खाए साँझ के खाने साँझ खाए बिहान के खाने भन्ने चिन्ताले सताउने हुँदा घरपरिवारबाट टाढिन नचाहेर पनि बिरानो मुलुकमा जानुपर्ने बाध्यता रहेको उनले लामो सुस्केरा हाल्दै बताए ।

जनताका प्रतिनिधिले देश चलाए दैनिकी फेरिएला भन्ने सोचेका विकका दिनहरु पहिलेभन्दा फरक बन्न सकिरहेका छैनन् ।

छोराछोरी ठूला हुँदै जाँदा विद्यालयको शुल्क, कापी, कलम र उनीहरुका इच्छा–आकाङ्क्षा बढ्दै गएपछि दैनिकी चलाउन अझै हम्मेहम्मे पर्ने गरेको विकले दुःखेसो पोखे ।

सानैमा आमा गुमाएर १५ वर्षको उमेरमा वैवाहिक सम्बन्धमा बाँधिएका विकले विवाह गरेको १८ वर्ष पुगिसक्दासम्म पनि करिब ३ वर्ष जति मात्रै घरपरिवारसँग बसेको बताए । परिवार सँगसँगै बस्ने रहर हुँदाहुँदै पनि पेट भर्ने बहानामा परिवारसँग विछोडिएर बिदेसिनुपर्ने बाध्यता उनलाई छ ।

यस्तै बडाचौर–५ रोल्पाका २० वर्षीय सङ्गम बस्नेतको गुनासो पनि विकको भन्दा फरक छैन । दुई कक्षा पढेर विद्यालय जानबाट वञ्चित बस्नेत भन्छन्, “हाम्रा नेताले हामीलाई जिल्लामै रोजगारीको व्यवस्था मिलाइदिए घरमै बसेर केही गर्ने थियौँ । पढेका र नपढेका युवाका लागि फरक फरक काम गर्ने वातावरण सरकारले मिलाउन सके अवश्य पनि केही वर्षमा रोल्पा र रोल्पालीको मुहार फेरिन्छ ।”

आफ्नो बाल्यकालको स्मरण गर्दै बस्तेतले भने-“धेरै पढ्ने रहर थियो । तर हामी धेरै भाइबहिनी भएका कारण बुबाले आर्थिक भार थाम्न सक्नुभएन । तैपनि दुई कक्षासम्म त जसोतसो स्कुल गएँ । तीन कक्षा पढ्ने भएपछि कहिले कापी नहुने कहिले कलम नहुने कहिले लगाएको कपडा मैलो हुने त्यसमा पनि सरहरुको कुटाइ खानुपर्ने भएपछि स्कुल छोड्न बाध्य भएँ ।”

बा¥ह वर्षको कलिलो उमेरदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका बस्नेतलाई बुबाले नचाहेर नपढाएको भए त अझ पीडा हुने थियो तर ठूलो भएपछि विद्यालय नपठाउनुमा बुबाको आफ्नै बाध्यता भएको बुझेपछि उहाँलाई पढ्न नपाएको त्यति ठूलो पीडा छैन । तर गरिब हुनुमा उनी आफ्नो बुबा र आफूलाई दोषी ठान्छन् ।

वैदेशिक रोजगारीमा पुगेका नेपालीको लास बाकसमा हालेर नेपाल फर्काएको समाचार रेडियोबाट सुन्दा बस्नेतको मन भक्कानिन्छ तर पनि घरको स्थिति एकदमै नाजुक भएका कारण उनलाई विदेश जानैपर्ने बाध्यता छ ।

यस्तै, केही महिनाअघि बहुला कुकुरको टोकाइबाट आफ्ना बुबाको मृत्यु भएपछि सिर्प–५ रोल्पाका रुमे पुन पनि विदेसिने सोचमा छन् ।

घरमा कमाउने मान्छेको मृत्यु भएपछि उनलाई पनि दैनिकी चलाउन निकै मुस्किल पर्दै गएको छ । लामो प्रयास गर्दा पनि स्वेदशमा रोजगारी फेला नपरेपछि उनी विदेश जानका लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा आइपुगेका छन् ।

जनताका प्रतिनिधिले रोल्पा र रोल्पालीको भविष्यका बारेमा चिन्ता गर्नुपर्ने सुझाव दिँदै विकले भने “हातमा शासन सत्ता भएका बेला हाम्रा नेताले रोल्पा र रोल्पालीका बारेमा सोचेनन् भने रोल्पाको विकास कहिल्यै हुँदैन ।

त्यसैले यस विषयमा हाम्रा नेता गम्भीर बन्नुपर्छ ।” विभिन्न सम्भावना बोकेको रोल्पामा सरोकारवालाको आँखा र हात पुग्न सके रोल्पाले विकासको गति पक्डनेमा कुनै शङ्का छैन । रासस

प्रतिक्रिया दिनुहोस्