कविराज घिमिरे (इमेज)
धनकुटा, चैत ४ । सामुदायिक विद्यालय, अस्पताल तथा मठ–मन्दिरजस्ता संरचना निर्माणका लागि पछिल्लो समय धार्मिक र सामाजिक अभियान सन्चालन गर्ने गरिएको छ ।
समारोहमा समाजका बुद्धिजीवी, व्यापारी तथा उच्चपदस्थहरुमा ठूल्ठूलो रकम सहयोगको घोषणा गर्ने होडबाजी नै चल्ने गर्छ । तर, धनकुटामा भने धेरैले आफूले गरेको प्रतिबद्धता पूरा नगरेको पाइएको छ ।
बहुमुखी क्याम्पस सन्चालन गर्ने उद्देश्यले धनकुटाको सिन्धुवास्थित सरसस्वती माविले २०७२ सालमा भागवत पुराणको आयोजना गर्यो ।
जसमा समाजका विभिन्न व्यक्तित्वहरुले तत्कालै रकम र जिन्सी सहयोग गरे भने कतिपयले ठूलो–ठूलो सहयोगको प्रतिबद्धतामात्र जनाए ।
त्यतिबेला ३९ लाख नगद र ४१ रोपनी जग्गा दान गर्ने घोषणा भएको थियो । तर, त्यसमध्ये ११ लाख रुपैयाँ नगद र ४१ रोपनी जमिन अहिलेसम्म विद्यालयको स्वामित्वमा आउन नसकेको विद्यालयका निमित्त प्रधानाध्यापक लोकबहादुर अधिकारी बताउँछन् ।
त्यसैगरी, क्याम्पसको स्तरोन्नति र प्राविधिकतर्फको ओभरसियर कक्षा सन्चालनका लागि सहयोग जुटाउन पाख्रिबासको जालपादेवी उच्च माविले पनि २०६८ सालमा श्रीमद्भागवत् महापुराणको आयोजना गर्यो ।
प्रतिबद्धता गरिएको नगद केही जम्मा भएपनि दान गरिएको जग्गा सात वर्षसम्म विद्यालयको स्वामित्वमा नआएको प्रधानाध्यापक टेकनाथ अधिकारी बताउँछन् ।
धनकुटाका अन्य स्थानमा चलाइएका यस्ता अभियानमा सहयोगको प्रतिबद्धता गरेर पूरा नगर्नेमा मन्त्री, सांसद, प्रहरी र निजामती सेवाका उच्चपदस्थ तथा समाजका लब्ध प्रतिष्ठितहरु नै बढी छन् ।









प्रतिक्रिया दिनुहोस्