१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


स्वयम्भूको ठूलोभर्‍याङबाट पनि सवारीचालक अनुमतिपत्रसम्बन्धी काम सुरु


0
Shares

यातायात व्यवस्था विभागले आइतबार (आज)देखि ठूलोभर्‍याङमा यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो ।

कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यही पुस २७ गतेदेखि चाबहिल र भक्तपुरको जगातीमा पनि कार्यालय खोलिने जानकारी दिए ।

‘एकान्तकुनामामात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सवारीचालक अनुमतिपत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हट्नेछ, कार्यालयका कर्मचारी साथीहरुले समयमै सेवाग्राहीको काम गरिदिएर भीड अन्त्य गर्नुहुने विश्वास छ’–उनले भने ।

कार्यालयमा सोमबारदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने र एक हप्तापछि नयाँ अनुमतिपत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख वीरेन्द्र स्वाँरले बताए ।

अनुमतिपत्र लिन सेवाग्राहीको भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न तीन महिनाअघि निर्देशन दिएको थियो ।

निर्देशनानुसार खुलेको सो कार्यालयको मासिक भाडा रु एक लाख ३९ हजार पर्नेछ ।

चाबहिल र जगातीमा पनि घर भाडामै लिएर कार्यालय खोल्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।

नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमतिपत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत लिन सकिने व्यवस्था छ ।

विभागले एक साताअघिदेखि सवारीचालक अनुमतिपत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुआत गरेको छ ।

विभागले एक वर्षअघिदेखि स्मार्ट सवारीचालक अनुमतिपत्र वितरण सुरु गरेको थियो । रासस