Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


शान्तिस्तूप निर्माणका लागि पूर्वमन्त्री सिंहद्वारा ४७ लाख सहयोग


0
Shares

                                                                                                  फाइल फोटो
समाजवादी जनता पार्टी नेपालका अध्यक्षसमेत रहेका पूर्वमन्त्री सिंहले द हिमालयन पिस एसोसिएसनको पहलमा चन्दननाथ नगरपालिका–७ सिंगाचौर गाउँमा रु ६ करोडको लागतमा निर्माणाधीन शान्तिस्तूपका लागि सहयोग गरेका हुन् ।

राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डले स्तूप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको तर स्तूपलाई अविलम्ब सम्पन्न गर्नुपर्ने आवश्यकता खट्केकाले आफ्नो संसद विकास कोषको रु ४७ लाख सात हजार ५०० प्रदान गरेको मन्त्री सिंहले राससलाई जानकारी दिए ।

‘शान्तिस्तूप कर्णालीको पर्यटकीय पूर्वाधार हो र यसले पर्यटन विकासमा सहयोग पुर्‍याओस् भन्ने उद्देश्यले आफ्नो कोषको पूरै बजेट स्तूप बनाउन सहयोग गरेको हुँ’–उनले भने ।

सोही स्तूप निर्माणका लागि पूर्वसंस्कृति पर्यटन राज्यमन्त्री बलबहादुर महतले रु २० लाख र ललितजंग शाहीले रु एक लाख प्रदान गरेको स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिए ।

एसोसिएसनका अध्यक्ष दावा तामाङ लामाले विश्वमा शान्तिको देश नेपाल भनेर चिनाउन र कर्णालीबाट विश्वमा शान्तिको सन्देश फैलाउन स्तूप स्थापना गर्न लागिएको बताए ।

समाजवादी जनता पार्टी नेपालका उपाध्यक्ष बुम्क्याप लामाले आफ्नो पार्टीले कालीकोट, मुगु, कैलाली, जाजरकोटलगायतका जिल्लामा धार्मिक मठमन्दिर, बाटोघाटो र खानेपानी निर्माणमा सहयोग गर्दै आएको बताए । रासस