काठमाडौं, चैत ३ । विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आइतबार भएको समूहको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० ले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
समूह ‘ए’बाट नेपाल समूह विजेता तथा बंगलादेश समूह उपविजेता बनेका छन् । त्यस्तै, समूह ‘बी’बाट भारत विजेता र श्रीलंका उपविजेता भएका छन् ।
यसअनुसार पहिलो सेमिफाइनलमा नेपालले बुधबार श्रीलंकासित खेल्नेछ ।
नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० ले हराएको थियो ।
श्रीलंकाले माल्दिभ्सलाई हराउँदा भारतसित पराजित भएको हो ।
अर्को सेमिफाइनलमा बिहीबार भारतले बंगलादेशसित खेल्नेछ । भारतले यसअघि माल्दिभ्सलाई ६–० ले हराएको थियो । बंगलादेश नेपालसित पराजित हुँदा भुटानलाई हराएको थियो ।
६ टोली सहभागी प्रतियोगिताबाट भुटान र माल्दिभ्स दुवै खेल हारेर समूह चरणबाटै बाहिरिएका थिए ।
यसअघिका चारओटै संस्करण भारतले जितेको छ भने नेपाल तीनपटक फाइनलमा पराजित भएको छ । नेपाल एकपटक सेमिफाइनलबाटै बाहिरिएको थियो ।
सेमिफाइनल समीकरणअनुसार चौथोपटक फाइनलमा नेपाल र भारत नै भिड्ने अनुमान गरिएको छ ।
केही समयअघि भारतमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई पराजित गरेकाले यसपटक उपाधि भिडन्तमा कडा टक्कर हुने विश्लेषण गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्