
-सन्दीप पौड्याल, ईमेज
थकाली जातीअन्तर्गत पर्ने गौचन, तुलाचन, शेरचन र भट्टचनले गर्ने पूजानै यो पर्वको प्रमुख आकर्षण हो हिमाल पारीको जिल्ला भनिने मुस्ताङमा थकाली समुदायहरु आफ्नो महान पर्व ल्ह्फेव मनाउन जम्मा भएका छन् ।
पर्यटकका लागि अफ सिजन मानिएको यो बेलामा समेत मुस्ताङका होटल भरिभराउ छन् । थकालीअन्तर्गत गौचन, तुलाचन, शेरचन र भट्टचन यो पर्वमा सहभागी छन् ।
कोवाङ गाविसअन्तर्गत नाउरीकोट, नाकुङ, लार्जुङ, कोवाङ, खन्ती, सउरु र भुजुङकोटका थकाली समुदायले यो पर्व धुमधामका साथ मनाइरहेका छन् ।
जसमा भुजुङकोट भने अहिले बस्तीबिहीन छ । यी चार जातीका रंग र देवतासमेत छुट्टाछुट्टै छन् । गौचनको रातो, तुलाचनको हरियो, शेरचनको सेतो र भट्टचनको कालो रंग मानिन्छ ।
यी जातीको सम्बोधन पनि क्रम अनुसार नै हुन्छ । थकाली जाती र मानव कल्याणका लागि नै १२ वर्षे पर्व गरिने थाक संरक्षक हेमन्त गौचन बताउँछन् ।
चार जातका देवताका मन्दिरसमेत छुट्टाछुट्टै छन् । मन्दिरमा देवता भने बाकसभित्र राखिएको छ । देवतालाई नहेरे पनि पूजा भने नित्य गर्ने चलन छ ।
तिनै देवतालाई अहिले १२ वर्षमा मन्दिरबाट बाहिर निकाल्नु नै यो पर्वको मुख्य विशेषता हो । यो पर्व पञ्चतत्वसँगसमेत सम्बन्धित रहेको स्थानीय पूर्णप्रसाद तुलाचन बताउँछन् ।
आफ्नो संस्कृतिअनुसार चार जना मूल पूजारीले छुट्टाछुट्टै पूजा गर्ने, हरेक देवताको तिथि र मिति अनुसार छुट्टाछुट्टै समयमा निकाल्नुपर्ने भएकाले पुस १६ गतेबाट सुरु भएको पर्व माघ ३ गतेसम्म चल्न जान्छ ।
यी देवताको पूजा गर्ने बिधि पनि छुट्टै छ । थकाली मध्येबाट छानिने पाडेहरुले मात्र यो पूजा गर्ने गर्दछन् । पाडेहरुलाई पूजामा सहयोग गर्न चार जना कुमार केटा हुन्छन् ।
पूजा गर्ने क्रममा देवतालाई लिन मरस्र्याङ क्यु जानुपर्ने हुन्छ । त्यहाँ जाँदा बिधिअनुसार पाठ गरेर देवताको रंगअनुसारको लुगा लगाएर क्रम अनुसार हिँडेर जाने चलन छ ।
हिड्दा परम्परादेखि जुन ठाउँबाट हिँड्यो त्यही ठाउँबाट हिँड्ने चलन छ । गुफामा पुगेपछि मुख्यकर्ताहरुले हिमालबाट आएको चोखो पानीमा नुहाउनुपर्छ ।
ताप्नलाई आगो बाल्दा समेत चार जना देवताका कर्ताहरुले छुट्टाछुट्टै बाल्ने चलन छ । सो क्रममा पूजा गरेर नफर्र्केसम्म भट्टचनको भूमिका भने महत्वपूर्ण हुन्छ । फर्केर आएपछि स्थानीय महिलाले स्वागत गर्छन् ।
चार जातीले छुट्टाछुट्टै आफ्नो संस्कृति अनुसार पूजाबाट फर्केकाहरुलाई पूजा गर्ने चलन छ ।
लार्जुङमा पुगेर बिधि अनुसार भट्टचनको कर्ताले देवतालाई जगाएपछि चार वटा देवतालाई खोलामा लगेर राखिन्छ । त्यसैको तीन दिनपछि मात्र रथ यात्रा शुरु गर्ने चलन छ ।
सो क्रममा पूजारीले नुन बाँड्ने चलनसमेत छ । नून पाउनेको घरमा दुःख नपर्ने विश्वास यो समुदायमा छ
यो पर्वलाई आकर्षित बनाउन कविता प्रतियोगिता, म्याराथन दौड, अन्तरचन ताराखेल, सुन्दरी प्रतियोगिता, स्वास्थ्य शिविरलगायतका कार्यक्रमसमेत राखिएका छन् ।
बिभिन्न कार्यक्रम रहे पनि यस्ता मनोरञ्जनात्मक कार्यक्रम सात गाउँभन्दा अन्यत्र गर्नुपर्ने हुन्छ । थकाली जातीको ऐतिहासिक यो पर्व हेर्न मुस्ताङमा अहिले पर्यटक पुगिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्