
पूर्णप्रसाद मिश्र (रासस)
काठमाडौं, चैत २ । नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगंगासम्मको भागमा कन्चन पानी बगाइने भएको छ ।
यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ ।
प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
पशुपति क्षेत्रमा शुद्ध पानी बगाउने उद्देश्यले वि.सं. २०५१ देखि नै अधिकारसम्पन्न वाग्मती समितिको स्थापना गरी काम गरेपनि आशातीत सफलता हासिल हुन सकेको छैन ।
कोषले अधिकारसम्पन्न वाग्मती समितिसँगसमेत सहकार्य गरेर पशुपति क्षेत्रमा नयाँ प्रविधि उपयोग गर्न लागेको हो ।
नयाँ प्रविधिको उपयोग गरी यो क्षेत्रको वाग्मतीमा पानीको बहावपनि बढाइनेछ ।
पशुपति क्षेत्रमा शौचालयको फोहर त्यहीँ सफाइ गरी पानीमात्र बाहिर निकाल्ने गरी प्रविधि जडान गर्न लागिएको हो ।
सम्भाव्यता अध्ययन समूहले कति क्षेत्रमा यो प्रविधिले काम गर्छ भनी प्रतिवेदन कोषलाई बुझाएपछि काम सुरु हुने कोषले जनाएको छ ।
वि.सं. २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु गर्दाको पहिलो लक्ष्य पशुपतिसम्मको नदीलाई स्नानयोग्य बनाउने थियो ।
अभियानकाक्रममा कहिले नदी सफा हुने र माथिल्लो भागमा ढललगायत फोहर मिसाउँदा फेरि दुर्गन्धित भइ माछासमेत बाँच्न नसक्ने भइरहेको छ ।
उपत्यकाबाट ३७ मेट्रिकटन फोहर व्यवस्थापन
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार ३७ मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइबाट संकलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।
स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।
वाग्मती सफाइ महाअभियानको ३०५औं हप्तामा पशुपति क्षेत्रस्थित राम मन्दिरअघिको वाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, सफाइ अभियानकर्मीलगायत ५५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २३ संस्थाको सक्रियता रहेको अधिकारसम्पन्न वाग्मती समितिकी सन्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिइन् ।
गुह्येश्वरीमाथिको नदी सफाइको २६६औं हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नम्बर–४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो ।
नगरपालिका–४ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।
सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत संघ–संस्थासहित स्थानीयवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
रुद्रमती सफाइ अभियानको २६०औं हप्तामा रातोपुल–डिल्लीबजार–कमलपोखरीसम्ममको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
विष्णुमती सफाइको २३२औं हप्तामा तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको बीच सुमार्ग पुलबाट मनोहर तीर्थसम्मको क्षेत्रमा सफाइ गरी १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताए ।
सफाइमा वडाध्यक्ष अमृत थापालगायत जनप्रतिनिधि, तीनओटै सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी २०० भन्दा बढीको सक्रियता थियो ।
सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११५औं हप्ताको सफाइ गरियो । ११५ भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए ।
चक्रपथ सफाइ अभियानको १०१औं हप्तामा वसुन्धराबाट कान्ति बाल अस्पतालसम्म सफाइ गरी ९ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।
सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्रालिलगायत संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
आलोकनगर सफाइको १०१औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिइन् ।
सो अवसरमा प्लास्टिक सडकमा नफालौं भन्नेलगायत विषयमा जनचेतनामूलक अभियान चलाइएको थियो ।
कार्यक्रममा पूर्वसचिव किशोर थापा, महानगरपालिका–३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी, अधिकारसम्पन्न वाग्मतीको आयोजना प्रमुख आशीष घिमिरेलगायतले नदी सफाइमा स्थानीयवासी सक्रिय हुनुपर्नेमा जोड दिए ।
चक्रपथ–बाफलखन्ड सफाइको ८३औं हप्तामा कलंकीबाट सीतापाइला चोकसम्म सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए ।
सफाइ महाभियान सुरु भएको पाँच वर्षसम्ममा पनि ठोसरुपमा काम हुन नसकेको गुनासोसमेत सुनिने गरेको छ ।
सरकारले यस वर्षलाई सरसफाइ वर्षकारुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ ।
वाग्मती किनारमा सन्चालन भएका सुंगुर, बंगुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन ।
वाग्मतीबाट प्रभावित भइ उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यकाबाहिर पनि केही नदी एवं सहरमा गरी १०३ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्