
फाइल फोटो
तपाइँले लगानी गर्न चाहेको रकम विभिन्न जलविद्युत् आयोजनामा सरकारले लगानी गर्नेछ । कति वर्षमा कति प्रतिफल आउँछ सोको जानकारीसमेत सरकारले तपाइँलाई दिनेछ ।
नागरिकले सहजरुपमा जलविद्युत् क्षेत्रमा लगानी जुटाउने लक्ष्यका साथ ऊर्जा मन्त्रालयले वेबसाइट तयार पारेको छ ।
वेब पोर्टलमा www.moenonline.moen.gov.np मा आफ्नो व्यक्तिगत विवरण, सम्पर्क नम्बर, इच्छाएको व्यक्ति आदिको सम्पूर्ण विवरण भर्नुपर्नेछ र आफूले कति रकम लगानी गर्न चाहेको हो, सोकोसमेत किटानी गरेर विवरण राखेपछि सरकारले तपाइँलाई सम्पर्क गर्नेछ ।
नागरिकबाट उठाइएको रकम छिट्टै प्रतिफल दिने र चाँडै सम्पन्न हुने आकर्षक परियोजनामा लगानी गरिनेछ ।
ऊर्जामन्त्री जनार्दन शर्माले सोमबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा सो वेबसाइटको शुभारम्भ गरे ।
मन्त्रालयले सन्चालनमा ल्याएको वेबसाइटमा सोमबारदेखि नै नागरिकले आफूले लगानी गर्न चाहेको रकमको प्रतिबद्धता भर्न सक्नेछन् ।
नागरिकबाट उठाइएको रकम जलविद्युत् उत्पादन कम्पनीले अगाडि बढाउने नलसिंहगाड, शारदा, माथिल्लो अरुण, तल्लो अरुणजस्ता महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनामा लगानी गरिनेछ ।
सामान्य जलविद्युत् आयोजनाले सीमित संख्यामा सेयर आह्वान गर्दा अर्बौं लगानीको माग हुने गरेको सन्दर्भलाई विचार गरेर सरकारले सहजरुपमा विद्युतीय माध्यमबाट नै सेयर आवेदन गर्नसक्ने व्यवस्था मिलाएको हो ।
जलविद्युत् लगानी तथा उत्पादन कम्पनीले रु दुई अर्बको सेयर जारी गर्दा रु ४३ अर्बको आवेदन परेको थियो भने अन्य केही साना जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्दा न्यूनतम् २०० प्रतिशत बढी सेयर आवेदन हुने गरेको सन्दर्भलाई दृष्टिगत गरी सरकारले पहिलो चरणमा सेयरको प्रतिबद्धतापत्र माग गर्ने वातावरण बनाएको हो ।
प्रतिबद्धताका आधारमा आवेदनकर्तालाई तोकिएको जलविद्युत् आयोजनाको सेयर प्रदान गरिने मन्त्री शर्माको भनाइ छ । त्यस्तो प्रतिबद्धतापत्र व्यक्तिले व्यक्तिगतरुपमा र संस्था वा संस्थागत निकायले भने संस्थागतरुपमा नै सहभागी हुन पाउनेछन् ।
दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसियालगायतका मुलुकमा कार्यरत् नेपाली कामदारले पनि सहजरुपमा प्रतिबद्धतापत्रमा आफ्नो प्रतिबद्धतासहित दर्ता गर्न सक्नेछन् ।
यस्तै, गैरआवासीय नेपाली नागरिक, विदेशमा कार्यरत् नेपाली कूटनीतिक अधिकारी, निजामती कर्मचारी, विभिन्न संस्थामा कार्यरत् कर्मचारी सबैले सहजरुपमा जलविद्युत् क्षेत्रमा लगानी गर्नसक्ने ऊर्जासचिव अनुपकुमार उपाध्यायले जानकारी दिए ।
नागरिकको जलविद्युत् क्षेत्रमा लगानी गर्ने बढ्दो चाह र मुलुकको आवश्यकतालाई दृष्टिगत गरी प्रविधिको उपयोग गरेर लगानी जुटाउन लागिएको जानकारी दिँदै ऊर्जासचिव उपाध्यायले यसखालको प्रणालीले केही आयोजना तत्काल अगाडि बढाउनका लागि आवश्यक पर्ने रकम उपलब्ध हुने विश्वास व्यक्त गरे ।
नागरिकले कति रकम लगानी गर्न चाहेका हुन् सोही आधारमा सेयर प्रमाणपत्रसमेत दिइने भएकाले त्यसले लगानीको सुरक्षा एवं प्रतिफलको सुनिश्चिततासमेत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्