२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


समृद्धिको आधार सुशासन र विकास : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासबाटमात्र समृद्धिको संकल्प पूरा हुने भन्दै सुशासन र विकासका काममा सरकार लागिपरेको बताएका छन् ।

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको पनि उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघको शुक्रबार राजधानीमा आयोजित १५औं वार्षिक साधारणसभामा उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार रहेपनि ‘मिलेर खानेगरी भएका उद्योग बन्द गर्ने कार्यमा भने सहकार्य हुन नसक्ने’ बताए ।

कागज उद्योग, बाँसबारी छालाजुत्ता उद्योग सरकार र निजी क्षेत्र मिलेरै खाएको आरोप लगाउँदै उनले गलत कामका लागि सहकार्य हुन नसक्ने उल्लेख गरे ।

उनले निजी क्षेत्रको मागअनुसार लगानीको वातावरणका लागि कानुनमा सुधार आवश्यक भए सुधार गर्न पनि सरकार तयार रहेको बताए । त्यसका लागि बुँदागतरुपमा सुझाव दिन पनि उनले आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले समृद्धिका लागि सुशासन र कानुनमा सुधार आवश्यक रहेको बताए ।

सरकारको समृद्धिको संकल्पमा सहयोग गर्न विकासको इन्जिन मानिएको निजी क्षेत्रलाई विश्वासमा लिने अपेक्षा आफूहरुले गरेको उनको भनाइ थियो ।

कार्यक्रममा परिसंघले निर्यात प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै विभिन्न उद्योगीलाई सम्मान प्रदान गरेको थियो ।