काठमाडौं उपत्यकामा अब अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने « Image Khabar


काठमाडौं उपत्यकामा अब अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने


Imagekhabar
२८ पुष २०७३, बिहीबार १७:५३

                                                                                                            फाइल फोटो
स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरकारुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको बताए ।

उनले अब सन्चालनमा आउने स्तरीय नगर यातायातले अहिले सार्वजनिक यातायातका क्षेत्रमा देखिएका सबै समस्या हल गर्ने जिकिर गरे ।

साझा यातायातले पनि सार्वजनिक यातायातका क्षेत्रमा देखिएका धेरै समस्या समाधान गर्न सहयोग गरेको उनको भनाइ थियो ।

मन्त्री पाण्डेले काठमाडौं उपत्यकामा साँझमा यात्रीले बसपार्कमा घन्टौंसम्म कुर्दा पनि बस नपाउने र बस तथा माइक्रोबसमा कोच्चिएर यात्रा गर्नुपर्ने समस्याको दीर्घकालीन समाधान हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले गत भदौ २३ गते व्यवस्थापिका–संसदमार्फत् जनताका नाममा सम्बोधन गर्दै ६ महिनाभित्र सय लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराहीलगायत सहरमा नगरपालिकामार्फत् सन्चालन गरिने घोषणा गरेका थिए ।

कम्पनी दर्ता अन्तिम चरणमा
बस सन्चालनका लागि कामपाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ता हुँदैछ ।

मन्त्रालयले यही पुसको दोस्रो साता कामपाका अधिकृत राज्यप्रकाश प्रधानांग, ललितपुरका वरिष्ठ अधिकृत रुद्र गौतम, मध्यपुर थिमिका वरिष्ठ कानुन अधिकृत केशव सिलवाल र बूढानीलकन्ठका प्रतिनिधि माधव गौतम सम्मिलित समितिलाई १५ दिनभित्र कम्पनी दर्ता गर्न निर्देशन दिएको थियो ।

त्यस्तै, सो कमिटीलाई कम्पनीको कार्यालय सन्चालन र जनशक्तिको व्यवस्थापन गर्ने जिम्मेवारी पनि दिइएको छ ।

सोही कम्पनीमार्फत् स्तरीय बस चलाएर व्यवस्थापनको जिम्मा पनि उसैलाई दिने मन्त्रालयको योजना छ ।

सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा उपलब्ध गराइने, विमानस्थलमा सार्वजनिक यातायातको सुलभ पहुँच पुर्‍याइने र विभिन्न पर्यटकीय गन्तव्यमा सेवा पु¥याइ पर्यटन प्रवद्र्धनमा सहयोग गरिने कम्पनीको उद्देश्य रहेको मन्त्रालयको पूर्वाधार विकास महाशाखाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

मन्त्रालयले कामपाका मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्यको संयोजकत्वमा ‘स्फेसिफिकेसन र बोलपत्र पुस्तिका’ बनाउन अर्को प्राविधिक समिति पनि गठन गरेको छ ।

सो समितिका सदस्यमा यातायात व्यवस्था विभागका मोहनप्रसाद भट्टराई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर निशा ठाकुर सदस्य छन् ।

कामपाले कम्पनीको बहुमत हिस्सा लिने
बस सन्चालनका लागि नेपाल सरकारबाट प्राप्त अनुदान रु २५ करोड र चालु पुँजी २० प्रतिशत तथा नगरपालिकाले आ–आफ्नो सेयरबापत जम्मा गरेको रु १० करोडबाट कोष बनाइनेछ ।

मन्त्रालयले कामपालाई रु दुई करोड सन्चालन खर्च व्यहोर्न प्रस्ताव गरे पनि महानगरपालिकाले कम्पनीको बहुमत हिस्सा लिने इच्छा व्यक्त गरेको छ ।

त्यस्तै, काठमाडौंमा रहेका कीर्तिपुर, गोकर्णेश्वर, बूढानीलकन्ठ, टोखा र नागर्जुन नगरपालिकाले रु ३५–३५ लाख तथा चन्द्रागिरि, दक्षिणकाली, शंखरापुर, कागेश्वरी मनहरा र तारकेश्वर नगरपालिकाले रु १०–१० लाख सेयर राख्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

यस्तै, कम्पनीमा ललितपुरको रु एक करोड तथा कार्यविनायक, गोदावरी, महालक्ष्मी र बज्रबाराही नगरपालिकाका रु १०–१० लाख सेयर हुनेछ ।

त्यसैगरी, भक्तपुरले रु ६० लाख, मध्यपुरथिमिले रु ३५ लाख तथा अनन्तलिंगेश्वर, सूर्यविनायक, चाँगुनारायण र महामञ्जुश्री नगरकोट नगरपालिकाले रु १० –१० लाख सेयर राख्नेछन् ।

२० बस माग
काठमाडौं उपत्यकाबाहिरका नगरपालिकाले पनि स्थानीयस्तरमा नगरस्तरीय बस सन्चालन गर्न प्रस्ताव गरेका छन् ।

मन्त्रालयले विराटनगर, बुटवल, वीरगन्ज, नेपालगन्ज र पोखरा उपमहानगरपालिका र दाङ नगरपालिकासँग नगर बस सन्चालन गर्न प्रस्ताव आह्वान गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले कोहलपुर नगरपालिकासँग सहकार्य गर्दै १० मार्गमा बस चलाउन २० बस माग गरेको छ ।

खास गरी चिसापानी–कोहलपुर–नेपालगन्ज–जमुनाहा, धम्बोजी–गणेशमानचोक–परसपुर–गौघाट, नेपालगन्ज (सल्यानी बंगला)–फुल्टेक्रा–पुरौनी (खलवा) र वनकटवा–मदनचोक–कोहलपुर–चिसापानीमार्गमा नगर बस सन्चालन गर्न प्रस्ताव गरिएको नेपालगन्ज उपमहानगपालिकाका कार्यकारी प्रमुख गिरिराज ज्ञवालीले बताए ।

त्यस्तै, विराटनगर उपमहानगरपालिका पनि नगर बस सन्चालनका लागि कम्पनी दर्ता गर्ने चरणमा पुगेको छ ।

अपांगतामैत्री ‘मेट्रो बस’
सरकारले उपलब्ध गराउने सबै बस अपांगमैत्री हुनेछन् । त्यस्तै, अपांगता भएका यात्रीलाई सहज होस् भनेर ‘अडियो नोटिस बोर्ड’ र स्थान जनाउने ‘डिस्प्ले बोर्ड’का व्यवस्था हुनेछ ।

४० सिट क्षमता भएका ती बस १०.६ मि लम्बाइ, २.६ मि चौडाइ र ३.८ मि उचाइका हुनेछन् ।

बसलाई सूचना प्रविधिमैत्री बनाउन निःशुल्क वाइफाइको व्यवस्था हुनेछ । त्यस्तै, मोबाइल चार्ज गर्ने सुविधासमेत रहनेछ ।

मन्त्रालयले प्रधानमन्त्रीको घोषणालाई साकार बनाउनका लागि सय बस किन्न अर्थ मन्त्रालयसँग रु ६८ करोड बजेट विनियोजन गर्न पत्राचार गरिसकेको छ । उक्त रकमबाट बस किनेर नगरपालिकालाई चलाउन दिइने छ ।

मन्त्रालयले काठमाडौं उपत्यकाका २२ ओटै नगरपालिकाबाट रत्नपार्कलाई केन्द्र मानेर बस चलाउने योजना बनाएको छ ।

ती बस रत्नपार्कबाट आ–आफ्नो गन्तव्यमा जानेछन् र सोही रुट हुँदै फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्