
नेपाली कांग्रेसका दीपकप्रसाद कुइँकेलले स्थानीय निर्वाचन यथाशीघ्र गराउने व्यवस्था हुनुपर्ने बताउँदै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरवलोकन हुनुपर्ने माग गरे ।
नेकपा एमालेका भवानीप्रसाद खापुङले निजामती सेवाका कर्मचारीको सेवाकाल बढाउन नहुने अभिमत प्रकट गर्दै तेह्रथुमको संक्रान्तिबजारका अग्निपीडितलाई सहयोग गर्न माग गरे ।
नेपाली कांग्रेसका सीता गुरुङले पनि उक्त बजारका अग्निपीडितलाई पर्याप्त राहत सामग्री उपलब्ध गराउन र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था अविलम्ब गर्न माग गरिन् ।
नेकपा माओवादी केन्द्रका सूर्यप्रकाश बालाराईले सरकार र विपक्षी मिलेर राष्ट्र विकासमा लाग्नुपर्नेमा जोड दिए ।
संघीय समाजवादी फोरम नेपालका शिवजी यादवले किसानका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गरे ।
राप्रपाका सांसद कान्ता भट्टराईले नेपालको राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहको योगदानलाई राज्यले बिर्सन नहुनेमा जोड दिइन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका जंगीलाल रायले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन नसच्याए तराईमा आन्दोलन हुने चेतावनी दिए ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १४ प्रदेश उपयुक्त हुने बताउँदै नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप अन्त्य गर्ने व्यवस्था हुनुपर्ने माग गरे ।
तराई मधेस सद्भावना पार्टीका महिन्द्रराय यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै स्थानीय तहका समस्या उक्त प्रतिवेदनले समाधान नगर्ने बताए ।
नेपाल परिवार दलका एकनाथ ढकालले बूढीगन्डकी जलविद्युत् आयोजनाका पीडितलाई मुआब्जा वितरणमा असमानता रहेको भन्दै त्यसलाई पुनरावलोकन गर्नुपर्ने बताए ।
नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले विदेशी कूटनीतिक नियोगले नै नेपालीलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नु मुलुककानिम्ति दुर्भाग्यको विषय भएकाले सरकारले त्यसतर्फ ध्यानदिनुपर्ने माग गरे ।
नेकपा एमालेका पाँचकर्ण राईले स्थानीय तह पुनःसंरचना आयोगले स्थानीय जनताको भावनाविपरीत प्रतिवेदन पेस गरेकामा आपत्ति जनाउँदै उक्त प्रतिवेदन सच्याउन माग गरे ।
नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले काभ्रेका अजित मिजार र लक्ष्मी परियारको शव शिक्षण अस्पतालमा राखिएको धेरै समय भएकाले अन्त्येष्टिको व्यवस्था र दोषीलाई कारबाही गर्न विलम्ब गर्न नहुने बताए ।
नेकपा एमालेका गुरुप्रसाद बुर्लाकोटीले धादिङका वन क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारणले दुःख पाएको भन्दै राज्यले तिनका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
वनका कर्मचारीले स्थानीयवासी लाई दुःख दिएको उनको आरोप थियो ।
नेकपा माओवादी केन्द्रका सुरेन्द्रप्रसाद जयसवालले जनतान्त्रिक तराई मुक्ति मोर्चालगायत भूमिगत समूहबाट तराई क्षेत्रमा मारिएकाहरुका परिवारजनलाई राहत दिनुपर्ने माग गरे । रासस
प्रतिक्रिया दिनुहोस्