जनआन्दोलनका घाइतेको एक लाख गायब ! « Image Khabar


जनआन्दोलनका घाइतेको एक लाख गायब !


Imagekhabar
१ माघ २०७३, शनिबार १५:२९

                                                                                                    फाइल फोटो
जनआन्दोलनमा घाइते भएका मेचीनगर–६ धुलावारीबजार निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब भएको हो ।

२०४६ सालको ऐतिहासिक पहिलो जनान्दोलनताका चैत २४ गते काठमाडौंको बागबजारमा पञ्चायतविरुद्ध जुलुसमा सहभागी भएकाबेला छातीमा गोली लागेर प्रधान घाइते भएका थिए ।

छातीमा गोलीको दाग बोकिरहेका उनले अहिले पनि घाउबाट पिप बगिरहने गरेको बताए ।

प्रधानलाई २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री रहेकाबेला मन्त्रिपरिषदको निर्णयअनुसार दुई लाख रुपैयाँ उपचार सहयोग दिने निर्णय भएको थियो ।

सो सहयोगमध्ये एक लाख रुपैयाँ झापा जिल्ला प्रशासन कार्यालयमार्फत् गत वर्षको माघमा पाएका उनले अरु एक लाख रकम कहाँ–कसले गायब गर्‍यो भन्ने पत्ता लगाउनै नसकेको बताए ।

‘प्रशासन कार्यालय र गृह मन्त्रालयमा धेरै पटक धाएँ’–प्रधान भन्छन्–‘अनेक आलेटाले कुरा गरेर मलाई रकम दिएनन् ।’

२०७२ माघ ३ गते गृह मन्त्रालयले झापा जिल्ला प्रशासन कार्यालयलाई एक लाख रुपैयाँको चेकसहित सो ‘रकम झापाका जनआन्दोलनका घाइते दिलीप प्रधानलाई उपलब्ध गराइ भर्पाइ पठाइदिनू’ भनी निर्देशनसमेत दिएको थियो ।

च.नं.२२२७६३१ को सो पत्रमा पठाइएको एक लाखको चेक उपचार, आर्थिक सहयोगबापत प्रधानले पाउने रकमको पेस्की रहेको प्रस्ट उल्लेख छ । तर, त्यसपछि हालसम्म बाँकी एक लाखको अत्तोपत्तो छैन ।

प्रधानले आफ्ना लागि सरकारले उपलब्ध गराएको बाँकी एक लाख रुपैयाँ खोजी गरिदिन स्थानीय राजनीतिक दलका नेता र सांसदलाई गुहारिरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्