युएइमा प्रधानमन्त्री दाहालको आब्हानः ‘जलविद्युत् क्षेत्रमा लगानी गरौं’

संयुक्त अरब इमिरेटस् युएइको अबुधाबीमा भइरहेको ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्ने वातावरण बनाइरहेको दाबी गरे ।
उनले जलविद्युत्को विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम भइरहेकाले लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।
प्रधानमन्त्री दाहालले नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना भए पनि प्राविधिक रुपमा ४२ हजार मेगावाट उत्पादन गर्न सकिने जानकारी अन्तर्राष्ट्रिय समुदायलाई दिए ।
नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्न पनि आर्थिक विकास र समृद्धि जरुरी रहेको भन्दै उनले त्यसको महत्वपूर्ण आधार नै जलविद्युत् क्षेत्र भएको स्पष्ट पारे ।