२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


विद्यार्थी मृत्युको घटनामा कलेज परिवार दुःखी : ब्रिटिश कलेज


0
Shares

काठमाडौं । एक महिना अघि अन्तर्राष्ट्रिय भ्रमणका क्रममा दुबईको समुद्रमा पौडी खेल्दा डुबेर विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर एकपक्षीय रूपमा गरिएको समाचार सम्प्रेषणप्रति ‘द ब्रिटिश कलेज’ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

थापाथली, काठमाडौंस्थित कलेजले एक विज्ञप्ति जारी गर्दै भ्रमणका क्रममा समुद्रमा डुबेर मृत्यु भएका २० वर्षिय विद्यार्थी गौरव श्रेष्ठको परिवार मिडियामा नकारात्मक तवरले प्रचारबाजीमा उत्रेको स्पष्ट पारेको हो ।

श्रेष्ठका बाबु महेन्द्रले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिश कलेजले लिनुपर्ने बताउँदै आएका छन् । उनले भने, ‘कलेजको लापरवाहीकै कारण मेरो छोराको निधन भएको हो । त्यसैले कलेजले जिम्मेवारी लिनुपर्छ ।’

कलेजले आफ्ना विद्यार्थीहरूलाई विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गराउँदै आएको र उक्त भ्रमण विद्यार्थी र अभिभावकको स्वीकृतिमै गरिने विज्ञप्तिमा जनाइएको छ ।

यसै सन्दर्भमा गत १२ फेब्रुअरीमा २६ जना विद्यार्थीको समूह दुबई भ्रमणमा गएको र सोही क्रममा विद्यार्थी गौरव श्रेष्ठको समुद्रमा पौडि खेल्दा उनको ज्यान गएको थियो ।

डुबेको देख्ने बित्तिक लाइफगार्डहरुले पानीबाट निकालेर प्राथमिक उपचार र (सीपीआर) पनि दिएका थिए । साथै उनलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको थियो ।

तर, दुर्भाग्यवश अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको अस्पतालले जानकारी दियो । समुद्रमा पौडी खेल्न सख्त मनाही गर्दागर्दै श्रेष्ठ पौडिन गएको र सोही कारण उनको ज्यान गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कलेजले भनेको छ,‘यस निधनले कलेजको सम्पुर्ण परिवार शोकमा डुबेको छ र परिवारलाई हाम्रो हार्दिक समवेदना छ ।’

विद्यार्थीलाई कलेजले लैजाने शैक्षिक भ्रमण अनिवार्य नभई ईच्छुक विद्यार्थीहरूको लागि मात्रै भएको समेत कलेजले जनाएको छ ।

दुर्घटना लगत्तै कलेजले कुनै कसर बाँकी नराखी जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरेको थियो ।

घटनाको जानकारी पाउने बित्तिकै कलेजका सिइओ अफ्रिकाको भ्रमण तुरुन्तै रद्द गरेर फेब्रुअरी १६ को बिहानै ५ः३० (स्थानीय समय) मा घटनास्थलतर्फ पुगेका थिए ।

सोही समयमा घटनाको प्रभावकारी अनुसन्धानको लागि दुबईमा थप ३ जना व्यक्ति परिचालन गरियो भने नेपालमा पनि कलेजका उच्च पदस्थ व्यक्तिहरु प्रिन्सिपल, डिन र अप्रेसन डाइरेक्टर सहितको ३ जनाको समूह पनि निर्माण गरियो ।

तत्कालै मृतक विद्यार्थीको नजिकको आफन्त धिरज श्रेष्ठलाई कलेजकै खर्चमा दुबई पठाइयो । तथ्य कुरा थाहा होस् भनेर विद्यार्थीका आफन्त धिरजलाई त्यहाँ पठाइएको थियो ।

विद्यार्थीको मृत्युपश्चात कलेजको विशेष पहलमा गौरवको शव १ हप्तामै नेपाल ल्याउने सम्भव भएको थियो । अन्यथा ३–४ हप्ता लाग्नु सामान्य नै मान्ने गरिन्छ ।

यी सबै कुरा सम्भव गर्न कलेजको तर्फबाट ठूलै धनराशी खर्च भएको छ । र विद्यार्थीको मृत्युले कलेज परिवार समेत अत्यन्त दुःखी भएको बताउँदै अनर्गल प्रचारबाजी नगर्न मृतक विद्यार्थीको परिवारलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।

विद्यार्थीको मृत्यु अन्य कारणले भएको भए सम्बन्धित व्यक्तिहरू दुबई प्रहरीको कारवाहीको दायरामा आइसक्ने र सम्बन्धित व्यक्तिहरू नेपाल आउने अनुमति पनि रोकिने जानकारी समेत विज्ञप्तिमा गराइएको छ ।