
अबको १० दिनभित्र निर्वाचन कानुन र मिति घोषणा भएन भने वैशाख÷जेठमासमेत निर्वाचन सम्भव नहुने निर्वाचन आयोगले प्रस्ट पारेको छ ।
नेपालमा निर्वाचनका लागि उपयुक्त मौसम भनेकै चैतदेखि जेठसम्म र कात्तिक, मंसिर महिना हो ।
आवश्यक कानुनसहित मिति घोषणापछिको १२० दिन निर्वाचन आयोगलाई निर्वाचनको तयारीका लागि लाग्छ । अबको १० महिनाभित्र संविधानअनुसार तीन तहको निर्वाचन गर्नुपर्छ ।
स्थानीय तहको निर्वाचन गराउने गरी बनेको वर्तमान सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरुले पटक–पटक चैैतमै निर्वाचन गराउने भाषण गरे । तर, यथार्थ के हो भने निर्वाचनका लागि आवश्यक कानुन अझै बनेको छैन ।
त्यति मात्र होइन, स्थानीय तह वा निकाय के–को निर्वाचन भन्ने टुंगोसमेत भएको छैन । स्थानीय तह पुनःसंरसचना आयोगको प्रतिवेदनसमेत अघि बढ्न सकेको छैन । त्यसमा पनि दलहरुबीचको राजनीतिक विवाद त छँदैछ ।
यस्तो अवस्थामा अब समय र कामको विवरणलाई हेर्ने हो भने वैशाख/जेठमा स्थानीय निकायको निर्वाचन हुने सम्भावना निकै कम बनिसकेको छ ।
निर्वाचन आयोगले पनि अबको १० दिनभित्र निर्वाचन कानुन नआए वैशाख/जेठमा स्थानीय निर्वाचन गराउन नसकिने स्पस्ट पारेको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले १० दिनभित्र कानुन नबनेको अवस्थामा वैशाख वा जेठमा निर्वाचन गर्न नसकिने बताएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्