
चितवन,जेठ २९ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार जो कोही भएपनि कारबाही हुने बताएका छन् ।
आज (मंगलबार) भरतपुरमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले बिकास निर्माणमा लापरबाही गरेको भेटिए आफ्नै घरबेटीलाई पनि कारबाही हुने बताए ।
उनले भने–“ठेकेदारले गुणस्तरिय काम गनुपर्छ,यदि त्यहाँ लापरबाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ, गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।”
प्रचण्डले गृहमन्त्रीलाई यस बिषयमा आफुले कुने दबाब नदिएको दाबी गरे । बाहिर चर्चा भएजस्तो गृहमन्त्रीलाई बोलाएर यो गर्नुहोस, त्यो गर्नुहोस् भनेर नभनेको प्रचण्डको भनाई छ ।
प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन् ।
प्रचण्डले राष्ट्रिय एकता कायम गर्न र बिकास, संमृद्धीको नयाँ संकल्पका लागि बृहत राष्ट्रिय एकता निर्माण गरिरहेको बताए ।
उनले राजपालाई पनि सरकारमा ल्याउने बिषयमा छलफल भैरहेको बताउँदै सहभागी हुन चाहे सरकारमा सहभागी गराउन सकिने बताए ।
‘कम्तीमा पनि नेपाली काँग्रेस सरकारमा आउनुहुदैंन,ल्याउने योजना पनि छैन, प्रचण्डले भने, बाँकी रहेका सबै दललाई सरकारमा ल्यायो भने डेमोक्रेसी चल्छ ।’
प्रचण्डले कतिपय विषयमा नेपाली काँग्रेससंग पनि सहकार्य गरेर काम गर्ने बताए । उनले कार्यकारी राष्ट्रपती अहिलेको एजेण्डा नभएको बताए ।
‘संबिधान निर्माण गर्ने बेलाको एजेण्डा हो,त्यतिबेला हामीले कार्यकारी राष्ट्रपतिको एजेण्डा अघि सारेका थियौं,त्यो अहिलेपनि गलत थियो भनेका छैनौं ।’ राष्ट्रपति भन्दापनि यतिबेलाको एजेण्डा सुशासन,बिकास र संमृद्धी भएको प्रचण्डको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्