२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सरकार ! मुक्तिनाथ अधिकारीजस्ता निर्दोषहरुले कहिले न्याय पाउँछन ?(भिडियो)


39
Shares

-नविनराज कुईंकेल, ईमेज

लमजुङ, माघ ६ । अनवरत गाउँको शैक्षिक जागरण, सामाजिक विकास र मानवअधिकारको चेतनाका लागि लाग्दालाग्दै विचारमा समर्पण नगरेकै निहुँमा लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारी मारिएको डेढ दशक भैसकेको छ ।

यसबीचमा मस्र्याङ्दी र चेपे नदीमा थुप्रैं पानी बगेको मात्रै होइन, नेपाली राजनीतिमै पनि धेरै परिवर्तन आइसकेको छ । तर राज्यसत्ता कब्जाका लागि तात्कालीन माओवादीले क्रूरतम ढंगले हत्या गरेका अधिकारी जस्ता हजारौंहजार नागरिकले अहिले पनि न्याय पाउन सकेका छैनन् ।

राज्यसत्ता कब्जाका लागि भन्दै माओवादीले चलाएको सशस्त्र हिंसामा अधिकारी जस्ता निशस्त्र र निहत्था हजारौंहजार नागरिक मारिए । कोही राज्यको बन्दुकमा त कोही तात्कालीन विद्रोही माओवादीको बारुद र बममा पारिए ।

जसको हिंसासँग न त प्रत्यक्ष संलग्न थियो न त कुनै साइनो नै । आफूमा समर्पण नगर्ने जो कोहीलाई माओवादी सुराकीको बिल्ला भिराइदिन्थ्यो र क्रूरतम हत्या गर्दथ्यो । गाउँ गाउँमा परिचालन गरिएका सुरक्षाकर्मीको रवैया पनि धेरै भिन्न थिएन ।

माओवादीलाई गाँस र वास दिएकै बहानामा द्वन्द्वको अर्थसमेत नबुझ्ने सोझासाझा नागरिक मारिने र चरम यातना पाउँदथे । अपहरण र यातना नियतिझै बनेको थियो ।

राज्यसत्ता पल्टाउने र टिकाउने बीचको त्यही होडमा २०५८ सालको माघ ३ मा मारिएका थिए पाणिनी संस्कृत माध्यामिक विद्यालयका गुरु मुक्तिनाथ अधिकारी ।

आफ्ना विद्यार्थीलाई कक्षा कोठामा पढाउँदै गर्दा यही विद्यालयबाट अपहरण गरी लगिएका अधिकारीलाई सोही गाउँको शिरानमा पुर्‍याएर रुखमा झुड्याएर गोली ठोकेर मारियो ।

निर्मम र बर्बर हत्याकाण्ड भएको १५ वर्ष बितेपनि माघ ३ वितेपनि दुराडाँडावासी उसैगरी झस्कन्छन् जसरी डेढ दशक अगाडी शोकमा डुबेको थियो डाँडो ।

उसो त लमजुङको दुराडाँडा शाह वंश मात्र नभई मध्यपहाडको शिक्षा र प्रगतिशील विचारका लागि उद्गमस्थल नै थियो । इतिहास र संस्कृतिको उर्बर माटोका बौद्धिक उत्पादन थिए मुक्तिनाथ ।

त्यसैले त बुर्जुवा शिक्षा अन्त्यको नारामा सोझासादा नेपालीलाई लट्पट्याउन खोज्दा अवरोधक बनेको भन्दै मारिए अधिकारी ।

तिनै मुक्तिनाथको सम्झनामा जुटेको दुराडाँडावासी प्रश्न गर्दैथिए, हजारौं निर्दोष नागरिकको रगतबाट सृजना भएको गणतन्त्रमा निरपराध मारिएकाहरुले किन न्याय पाउँदैनन् ?

न्यायका लागि निरन्तर संघर्ष गर्दा पनि न्याय नपाउँदा हरेक माघ ३ आफूहरुका लागि अर्को मृत्यु बनेर आउने गरेको पीडा सुनाउँछन् अधिकारी पुत्र सुमन ।

अधिकारी परिवार मात्र होइन दुराडाँडा वरपरका शिक्षक, विद्यार्थी र स्थानीय उसैगरी न्यायको चीर प्रतीक्षामा छन् ।

तर राज्य संक्रमणकाल टुग्याउने बहानामा गम्भीर अपराधमा संलग्नहरुलाई समेत आममाफी दिन खोज्दैछ । तर त्यस्तो हुन नदिने एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष राजन कुईकेल बताउँछन् ।

माओवादी सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको अनुसन्धान गरी दोषीलाई दण्ड र पीडितलाई न्याय तथा परिपूरणको व्यवस्था गर्नकै लागि राज्यले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग बनाएको छ ।

तर दुई वर्षको समयावधि पाएको आयोगले अहिलेसम्म पनि देखिने प्रगति गर्न नसक्दा अधिकारी जस्ता हजारौं द्वन्द्व पीडितले न्यायका लागि कहिलेसम्म धैर्य गर्ने भन्ने प्रश्न टड्कारो रुपमा अगाडी आएको छ ।